काठमाडौं । संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यी दुवै पार्टी सम्मिलित सरकार बन्ने क्रममै कम्युनिस्ट पार्टीहरु एक भएर जानुपर्छ भन्नेबारे छलफल भएको थियो। संविधान जारी हुँदा र नाकाबन्दीको समय राष्ट्रियताको मुद्दामा दुवै पार्टी एकैठाउँ उभिएकाले चुनावी गठवन्धनदेखि पार्टी एकतासम्म गरेर जानुपर्ने कुरा त्यही बेला उठेको थियो। भारतीय ‘थिचोमिचो’ ले यी दुई वामशक्तिलाई एकअर्काको नजिक बनाएको थियो।

नेपालमा कम्युनिस्ट पार्टीहरू विभाजित रहेकाले ‘लेफ्ट भोट’ को बहुमत हुँदा हुँदै धेरैजसो समय नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको अनुभूतिले पनि एमाले र माओवादीलाई एकताको खाँचो बोध गराएको नेताहरू बताउँछन्।

बीचमा दुई दलबीच सम्बन्ध चिसो भए पनि माओवादी र एमालेकै केही नेताले दुवै पार्टीलाई एकठाउँ ल्याउने प्रयत्न छाडेनन्। यसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट वामदेव गौतमले मुख्य भूमिका खेले। उनीहरूकै सक्रियताका कारण आपसी सम्बन्ध चिस्सिएका दुई पार्टीबीच स्थानीय चुनावअघि नै पनि शीर्षतहमा भेटघाट र छलफल चलिरहेको थियो।

यो चिस्सिएको सम्बन्धमा त्यतिखेर ‘टर्निङ प्वाइन्ट’ आयो, जब पहिलो चरणको स्थानीय चुनावमा माओवादी तेस्रो बलियो शक्तिका रूपमा कायम रह्यो। यसले एमालेलाई माओवादी ‘नसकिने रहेछ’ भन्ने आभाष गराएको माओवादी नेताहरू बताउँछन्।

त्यसपछि नेताहरुको भेट र छलफल थप बाक्लो बन्यो। त्यस क्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव, ईश्वर पोखरेल, माओवादीका पुष्पकमल दाहाल, नारायणकाजी र रामबहादुर थापाबीच भेट भयो। उनीहरूले पार्टी एकीकरण र चुनावी तालमेल दुवै मुद्दामा छलफल अघि बढाए। छलफललाई तीव्रता दिन ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अराए। माओवादी तर्फबाट जनार्दन शर्मा पनि थपिए।

Please follow and like us:

Comments