काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व बडा दशैँको विशेषता भनेको टीका, जमरा र आशिर्वाद हो । घटस्थापनामा पवित्र तरिकाले घरभित्र जौं छरेर नौं दिनसम्म पूजा गरेपछि दशैँको दिनमा निकालिन्छ । टीका लगाइदिएसकेपछि शीरमा जमरा लगाइदिएर आशिर्वाद दिने चलन रहेको छ ।

संस्कृतमा यव भनिने जौलाई पौराणिक कालमा अन्नको राजा मानिएको उल्लेख गरिन्छ । जौ स्वास्थ्यको दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । त्यस्तै, चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर रस बनाई सधै सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद क्यान्सर एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ ।

यस्तै बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ। साथै यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउंछ । अमेरिकाका भूविज्ञ डा आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो ।

हिन्दूहरुले यसलाई पवित्र अन्नको रुपमा लिन्छन् । जौको यिनै विविध सर्वोत्कृष्ट गुणहरुले गर्दा नै समृद्धिको प्रतीकको रुपमा दशैमा जौ उमारेर जमरा लगाउने गरिन्छ ।

Comments

comments