एजेन्सी । सन २०१६ मा विश्वमा भोकमरी वा कुपोषणबाट पीडित ८१ करोड ५० लाख पुगेको विश्व स्वाथ्य संगठनले जनाएको छ । भोकमरीबाट प्रभावित मानिसहरुको संख्या फेरि ९० करोड नाघ्ने सम्भावना बढ्दै गएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

विज्ञान तथा प्रविधिमा भएको विकास र त्यसबाट खाद्य उत्पादनमा भएको उल्लेखनीय बृद्धिका कारण भोकमरी तथा कुपोषणबाट पीडितहरुको संख्यामा कमी आएको थियो । तर, यो उपलब्धी विश्वभरि भइरहेका युद्धहरुका साथै जलवायु परिवर्तनका कारण खतरामा परेको राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । विश्व खाद्य तथा कृषि संगठन, विश्व स्वास्थ्य संगठन, कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोष, विश्व खाद्य कार्यक्रम तथा युनिसेफले यो रिपोर्ट निकालेको हो ।

सन् २०१६ मा पोषणयुक्त खानाको अभावका कारण ५ वर्षमुनिका १५ करोड ५ लाख बालबालिकाहरुको उचाइ, उमेर अनुसार कम पाइएको छ । त्यस्तै, ५ करोड २० लाख बालबालिकाहरुको तौल पोषणको कमीका कारण उचाइअनुसार कम पाइएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियामा १२ प्रतिशत मानिसहरुमा पोषणको कमी पाइएको छ ।

सन् २००० मा भोकमरीबाट ९० करोड मानिसहरु प्रभावित भएको अवस्थामा २१ औं शताब्दीमा आएर भोकमरी घटाउनमा उल्लेख्य सुधार आएको थियो । तर, यो अवस्था उल्टिन सक्ने र भोकमरीबाट प्रभावित मानिसहरुको संख्या फेरि ९० करोड नाघ्ने सम्भावना बढ्दै गएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

भोकमरी अर्थात अपर्याप्त पोषित व्यक्तिहरुको संख्या सन् २०१६ मा ८१ करोड ५० लाख पुगेको थियो, जुन सम्पूर्ण युरोप महादेशको जनसंख्याभन्दा बढी हो । त्यसमध्ये ४८ करोड ९० लाख, अथवा ६० प्रतिशत मानिसहरु युद्ध वा गृहयुद्धको चपेटामा परेका राष्ट्रहरुमा बसोबास गर्छन् ।

द्वन्द्व बढेसँगै उल्लेखनीय रुपमा खाद्य संकट बढ्दै गएको छ  । सन् २००७ देखि सन् २०१६ सम्म आइपुग्दा त्यस्ता मानिसहरुको संख्या दोब्बर भएर ६ करोड ४० लाख पुगेको छ ।

कृषियोग्य भूमिको प्लटिङ्, बाढी–पहिरो, सिचाइँको अभाव र खडेरीका कारण नेपालमा पनि प्रतिवर्ष खाद्यान्न उत्पादन घट्दै गएको छ । सरकारले समय सापेक्ष कृषिनीति अवलम्बन नगरे नेपाल पनि भोकमरी र कुपोषणबाट अछुतो रहन सक्दैन ।

Please follow and like us:

Comments