काठमाडौं । जीवनका ३४ वसन्त बालबालिकाका लागि रेडियो कार्यक्रम बनाएका वरिष्ठ कलाकार वासुदेव मुनालको ६८ वर्षका उमेरमा निधन भएका छ । घाँटीमा क्यान्सरको रोगबाट पीडित मुनालको आज भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो ।

जब साँझको ५ बज्थ्यो, अनि रेडियो नेपालबाट बाल कार्यक्रम आउने समय भयो भनेर रेडियो सेट वरपर बालबालिका झुम्मिन्थे । थुप्रै कालजयी लोकसंगीतमा स्वर दिएका कलाकार वासुदेव मुनालको परिचय बाल कार्यक्रम प्रस्तोताकै रुपमा रह्यो । रेडियो नेपालको ३१ वर्षे जागिरे जीवनभर वासुदेव मुनालले बाल कार्यक्रम सञ्चालन गर्नुभयो ।

‘आओ, मेरा प्याराप्यारा भाइबहिनीहरू हो, रेडियो नजिक आओ…’ भन्दै केटाकेटीलाई आफ्नो समीपमा ल्याए । कथा, कविता लेख्न, बोल्न र सिर्जनशील हुन सिकाउनु भयो । वासुदेव मुनालले बालगीत, नाटक, कथा, कविता पनि लेख्नु भयो । मुनालले लेख्नु भएको नाटक रेडियो नेपालमा अझै प्रसारण भइरहेका छन् ।

२०३० मा भएको देशव्यापी लोकगीत प्रतियोगितामा मुनाल पहिलो हुनु भएको थियो । ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला’, ‘तिम्रो घर चाँचरी’, ‘भए पनि ठीकै नभए पनि ठीकै’, ‘हाय मेरी मलमल जुनकीरी’ लगायत थुप्रै गीत वासुदेवले लेख्नु भयो, अनि संगीत र आवाज पनि दिनु भयो । ती सिर्जना कालजयी बनेर नेपालीको मनमष्तिष्कमा रहिरहनेछ ।

२००६ असार २६ गते जन्मनु भएका मुनाल घाँटीको क्यान्सर भएर थलिनु भएपछि केमोथेरापी समेत गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । रेडिएसन दिएर मुनाललाई बचाइएको थियो । तर चौथो स्टेजमा पुगेको क्यान्सरले कालजयी स्रष्टालाई चुँडेको छ हामीबाट ।

Comments

comments