काठमाडौं । विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागीता जनाइसकेको नेपाली चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाएर निर्माण गरेको ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ ।

वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालीन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।

चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । ‘तान्द्रो’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङले जानकारी दिए । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतीस कुमार गौतम हुन् ।

चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् ।

Comments

comments