काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ वटा जिल्लाका एक सय ३६ स्थानीय तहमध्ये एक सय २३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा माओवादी केन्द्र २०, राष्ट्रिय जनता पार्टी नेपाल २२, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपाल १ स्थानमा विजयी भएको छ ।

एक हजार दुई सय ७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार एक सय ७८ वडाको मतगणना सम्पन्न भएको छ । आयोगमा अब १४ स्थानीय तह र ९३ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । केही स्थानीय तहमा राजनीतिक दलसँगको छलफलपछि मतगणनालाई पुनः सुचारु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

Comments