आज राजधानी उपत्यकामा इन्द्रजात्रा पर्व धुमधामका साथमा मनाइँदैछ ।

राजधानीको हनुमानढोकामा इन्द्रजात्राका लागि रथयात्राको सम्पूर्ण तयारी पूरा भैसकेको छ । यस पर्वका लागी वसन्तपुर दरबार क्षेत्र तथा सो आसपास क्षेत्रमा रङरोगन गरि सिँगारिएको छ । यहाँ इन्द्रध्वजा फहराइएपछि यो वर्षको इन्द्रजात्राका विभिन्न गतिविधि सुरु भएको थियो ।

यो पर्वमा प्रत्येक वर्ष भाद्रकृष्ण द्वादशीका दिन इन्द्रध्वजा फहराइएपछि हनुमानढोका तथा सो आसपास क्षेत्रमा जात्राको माहोल निकै तातेको छ । यहाँका स्थानीय टोलटोलमा राखिएका श्वेत भैरव, काल भैरव र इन्द्रको दर्शन सर्वसाधारणलाई खुला गरिएपछि भक्तजनको चहलपहल समेत बढेको छ ।

प्राचिन कथा अनुसार कुनै समय प्राचीन काठमाडौँ (काष्ठमण्डप) अर्थात् नेपालमण्डलमा एक दिन देवताका राजा इन्द्रले पूजाका लागि आमालाई मन पर्ने पारिजातको फूल चोरी गरेपछि यहाँका बासिन्दाले उनलाई समातेर डोरीले बाँधी सजाय दिएका थिए । उनले आफ्नो परिचय दिएपछि नेपालमण्डलमा बसोबास गर्ने मानिसहरू ठुलो अनर्थ भयो भन्दै त्रासले अतालिएका थिए । यो खबर इन्द्रकी माता डाकिनीले थाहा पाएपछि आफ्ना छोरालाई लिन नेपालमण्डल आइन् । त्यसपछि सो घटनालाई वर्षमा एक पटक स्मरण गर्न जात्रा निकाल्ने सहमति भएपछि इन्द्र डाकिनीलाई जिम्मा लगाइएको थियो ।

यस जात्रा अन्तर्गत भैरव, भगवती, कुमार, दैत्य, कङ्काल, ख्याः, सात देवीदेवताका सात नाइके सहितको विशेष नाच बाजागाजासहित जैसीदेवल, बाङ्गेमुढा, इन्द्रचोक, किलागःलगायत स्थानमा प्रदर्शन गरिने छ । नेपालमा मनाइने इन्द्रजात्रा र यो संस्कृति लिच्छिविकालमा प्रारम्भ भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने यो जात्राका क्रममा गणेश, भैरव र कुमारीको रथ यात्रा गरिन्छ । यो कार्यक्रममा राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रिगण, विभिन्न मुलुकका राजदूत लगायतको सहभागिता हुने गर्दछ ।

यस पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ ।

Comments

comments