मेलबर्न । अष्ट्रेलियामा भव्यताक साथ नेपालको राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा नयाँ संविधान घोषणा भएको दिन पारेर अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली दूतावासको आयोजनामा नेपाल दिवस आयोजना गरिएको हो ।

अष्ट्रेलिया र नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शिष्टाचार महापाल लिण्डल स्याक्स प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारीहरु, विभिन्न देशका राजदूतहरु तथा कुटनीतिक नियोगका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपालमा भएको परिवर्तनलाई संस्थागत गर्दै गणतान्त्रिक संविधान जारी भएको दिनलाई नै विदेशमा रहेका कुटनीतिक नियोगहरुले नेपालको राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको बताउनुभएको थियो । उहाँले नेपालको लामो द्वन्द्व र विभिन्न आन्दोलनले नै अहिलेको परिवर्तन सम्भव भएको भन्दै संविधान जारी भएपछि यसलाई लागू गर्नका लागि अहिले भइरहेका निर्वाचनले सकारात्मक मोड दिएको बताउनुभयो । यसको साथै उहाँले दूतावासले हालै अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुको हितका लागि विभिन्न कार्यक्रम ल्याएको स्मरण गराउँदै नेपालीहरुले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्राप्त गरेको उपलब्धी निकै प्रशंसनीय भएको धारणा राख्नुभएको थियो ।

नेपाली दूतावासको तर्फबाट उक्त अवसरमा डा. कुमुद धिताल, डा. कृष्ण हमाल, खेम शर्मा, विजय सापकोटा तथा ग्राहम केन्टलाई उहाँहरुले प्राप्त गर्नुभएको उपलब्धीको कदर स्वरुप र अष्ट्रेलियाबाट पहिलो पटक नेपालको सगरमाथा आरोहण गर्ने टिम म्याकर्टने स्रेपलाई सम्मान गरिएको थियो । विभिन्न सांस्कृतिक झाँकीहरुको प्रस्तुतीले रोचक बनेको कार्यक्रममा चित्रकार ग्यालरीले राखेको नेपाली विभिन्न सम्पदाहरुको चित्रकलाले सबैको ध्यान खिच्दै कार्यक्रम स्थल सुन्दर बनाएको थियो ।

Comments

comments