काठमाडौं । कांग्रेसले १७ असोजभित्र प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठन गरेको कार्यदलले १७ असोजसम्म केन्बद्रमा उम्मेदवार सिफारिस गरी पठाउन परिपत्र गरेको हो ।

उम्मेदवार सिफारिसका लागि मापदण्ड बनाउनेसहितका कार्य गर्न कांग्रेसले कार्यदल गठन गरेको थियो । कार्यदलमा नेताहरू पूर्णबहादुर खड्का, बालकृष्ण खाण, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत र दिलेन्द्रप्रसाद बडू सदस्य छन् ।

‘२० र २१ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न १७ असोजभित्र सिफारिस पठाउन जिल्लालाई परिपत्र गर्ने निर्णय गरिएको छ,’ समिति सदस्य महतले भने । यसरी सुझाब र सिफारिस गर्दा गाउँ र नगरका पार्टी समितिले १० असोजभित्र क्षेत्रीय समितिमा र क्षेत्रीय समितिले १३ असोजभित्र जिल्लामा पठाउनुपर्नेछ ।

कसरी कति उम्मेदवार सिफारिस ?
क्षेत्रले प्रतिनिधिसभा प्रत्यक्षतर्फका सदस्यका लागि एकजना महिलासमेत तीनजना र समानुपातिकतर्फ दुई महिलासहित चारजना सिफारिस गरी जिल्लामा परिपत्र पठाउनेछ । प्रदेशसभा सदस्यका लागि पनि यही मापदण्डनजिक रहेर परिपत्र पठाउने तयारी गरेको एक सदस्यले जानकारी दिए । समानुपातिकतर्फ उम्मेदवार चयन प्रस्ताव गर्दा समावेशी प्रतिनिधित्वका सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्यालाई ध्यानमा राख्दै पठाउन भनिएको छ ।

उम्मेदवार कस्ता ?
सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्य रहेका, पार्टी्भित्र र आमजनतामा लोकप्रिय र स्थानीय तहमा पार्टीका उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेकामध्येबाट छान्नुपर्नेछ । उम्मेदवार सिफारिस गर्दा उम्मेदवारको मन्जुरीनामा, नागरिकताको प्रतिलिपि, मतदाता रहेको क्रमसंख्या, दुई प्रति पासपोर्ट साइजको फोटोसहित पठाउनुपर्नेछ । स्थानीय तहको निर्वाचनमा तल्लो तहलाई उम्मेदवार सिफारिस गर्न कांग्रेसले अधिकार दिए पनि अधिकांश ठाउँको उम्मेदवार पार्टी केन्द्रले नै छानेको थियो ।

सिफारिसपछि बल्ल संसदीय बोर्ड बन्ने
जिल्लाबाट उम्मेदवारको सिफारिस भएर आएपछि संसदीय बोर्ड गठन गर्ने र उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी कांग्रेसको छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन आज अमेरिका जाँदै छन् । १२ असोजमा देउवा फर्किएपछि कांग्रेसले १४ सदस्यीय बोर्ड गठन गर्ने तयारी गरेको छ ।

कांग्रेसमा अब सार्वजनिक रूपमा नेतालाई गाली गर्दा कारबाही
कांग्रेसले सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीको विधि, विधान र पद्धतिको विषयमा आलोचन गरे उम्मेदवार बन्नबाटै वञ्चित गर्ने भएको छ । आइतबारको कार्यसम्पादन समिति बैठकमा नेता–कार्यकर्ताबाट जथाभावी बोल्ने र नेतृत्वलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै कठोर अनुशासनको पक्षमा निर्णय लिने समझदारी भएको हो ।

‘कठोर अनुशासनको पक्षमा कांग्रेस उभिने भन्नेमा नेताहरू सहमत हुनुभएको छ । पार्टीको केन्द्रीय समितिसहितका बैठकमा पदाधिकारीका कमजोरी केलाउने, विधि र पद्धतिका कुरा उठाउन पाइन्छ,’ एक सदस्यले भने, ‘तर सार्वजनिक बैठकमा पार्टीका केन्द्रीय नेता, पदाधिकारीहरूको आलोचनात्मक भाषण गर्न पाइँदैन । यस्तो गर्ने नेताको रेकर्ड पार्टी केन्द्र र जिल्ला राख्छ । यस्ता नेता–कार्यकर्तालाई उम्मेदवारका लागि अयोग्य घोषणा गरिनेछ ।’ अनुशासनको यस्तो कडाइ जिल्लासम्म परिपत्र गर्ने तयारी रहेको ती सदस्यले जानकारी दिए । उम्मेदवार बन्न अयोग्य ठहरिने साथै पार्टीले त्यस्ता नेतालाई कारबाही गर्ने उनको भनाइ छ ।

उम्मेदवारको टिप्पणीसहित सिफारिस गर्नुपर्ने
पहिलेका गाउँ, नगरका सुझाब, सिफारिसपछि क्षेत्रीय सभापतिको सभापतित्वमा बैठक बस्नेछ । बैठकमा सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, दोस्रो संविधानसभा निर्वाचनमा सो क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको निकटतम प्रतिद्वन्द्वी, क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी हुनेछन् । निर्वाचन क्षेत्र गाभेर जिल्लामा क्षेत्र घटेकोमा क्षेत्रीय समितिमध्ये ज्येष्ठ सदस्यले बैठक आह्वान गर्नेछन् ।

गाउँ, नगरको समेत परामर्शपछि क्षेत्रले जिल्लामा उम्मेदवार प्रस्ताव गर्नेछ । त्यसपछि जिल्लाले टिप्पणीसहित पार्टी केन्द्रमा उम्मेदवारको सूची पठाउनेछ । जिल्ला सभापति, केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभामा प्रत्यक्षतर्फका उम्मेदवार, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू जिल्लाको बैठकमा सहभागी हुनेछन् । उनीहरूले क्षेत्रबाट आएको सिफारिसलाई पार्टीको समावेशी र मापदण्डअनुसार छ वा छैन भन्ने हेरेर टिप्पणीसहित केन्द्रमा उम्मेवदार सिफारिस गर्नेछ ।

जिल्लामामा एक निर्वाचन क्षेत्र रही फेरि एउटै मात्रै निर्वाचन क्षेत्र कायम भएको भए जिल्लाले उम्मेदवारको सिफारिस केन्द्रमा पठाउनुपर्नेछ । जिल्लामा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेकोमा र फेरि पनि सोही निर्वाचन क्षेत्र कायम रहेको भए क्षेत्रले उम्मेदवारको सिफारिस जिल्लामा र जिल्लाले केन्द्रमा पठाउनुपर्नेछ । जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एक संसद् क्षेत्र कायम हुन आएकोमा जिल्ला सभापतिको अध्यक्षतामा जिल्ला र क्षेत्रहरूको संयुक्त बैठकबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाउनुपर्नेछ । जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एकभन्दा बढी संसदीय क्षेत्र कायम हुन आएकोमा क्षेत्रले उम्मेदवारको सिफारिस जिल्लामा पठाउनुपर्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments