हेटौंडा । बिमा रकम दाबी गर्न सामान लुकाई ट्रक त्रिशुलीमा खसाल्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर मनहरी–५ का उज्वल कँडेल, नक्कली योजना बनाउने हेटौँडा–११ का २८ बर्षिय सन्तोष खत्रि, नक्कली ट्रक साहु बन्ने हेटौँडा–१९ का २२ बर्षिय निर्मल सुवेदी, सामान विभिन्न व्यक्तिको घरमा स्टोर गर्न लगाउने हेटौँडा–१३ का २४ बर्षिय मणी लामा रहेका छन् ।

उनीहरुले नवलपरासी भेडाबारी स्थित गोर्खा ब्रुअरीबाट ना ५ ख  ७२९७ को ट्रकमा चौधसय कार्टुन टुवर्ग बियर काठमाडौं पुर्याउन गएको र चितवनको गितानगरमा अर्को ट्रकमा सामान पल्टि गरी ईच्छाकामना गाउँपालिका स्थित जलबिरेमा ट्रक त्रिशुलीमा खसालेका थिए ।

घटनाबारे शंका लागि अनुसन्धान गर्दा बिमा रकम दाबि गरी ठगि गर्ने उद्देश्यले घटना गराएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नाटकीय शैलिमा योजनाबद्ध तरीकाले उक्त घटना गरिएको प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

योजना अनुसार दुर्घटना गराउने ट्रक चालक कडेलले चक्कुले आफ्नो खुट्टामा घाउ बनाए र अस्ताल भर्ना भए । सोहि दिन उनले इलाका प्रहरी कार्यालय मुग्लीनमा ट्रक पल्टिएको खोजिदिन र बिमाको रकमका लागि निवेदन दर्ता समेत गराएका थिए ।

घटना अनुसार हाल फरार रहेका ट्रकका मुख्य साहु हेटौँडा ३ का सन्तोष खडका आर्थिक रुपमा कमजोर भएपछि उनले हेटौँडा ११ का सन्तोष खत्री मार्फत यो योजना तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले नौ सय ६० कार्टुन बियर भने बरामद गरिसकेको छ । प्रहरीको अनुसार मालबाहक ट्रकमा ४३ लाख बराबरको बियर लोड गर्ने, उक्त वियरलाई चितवनमा आएर अर्को ट्रकमा सार्ने र वियर हेटौँडामा लुकाउने, २ सय कार्टुन वियरसहितको ट्रकलाई त्रिशुलिमा खसाल्ने योजना रहेको थियो ।

ट्रकका साहु खड्का निकै आर्थिक अपचलनको आरोप लागेको र ट्रक खसेको भन्ने बिमा संस्थानले समेत पत्याउन नसक्ने अवस्थाको कारण योजना सफल भएपछि ४ लाख दिने भन्दै हेटौँडा ११ का निर्मल सुबेदीलाई नक्कली साहु र ट्रक त्रिशुलीमा खसाल्न ५ लाख लिने सर्तमा मनहरीका कडेल तयार भए । घटना घटाएपछि बियरलाई उनीहरुले हेटौँडा १३ पदमपोखरीका मणीराज लामाको घरमा लुकाएर राखे ।

प्रहरीले यस फिल्मी स्टाईलको घटनाको पर्दाफास गर्दै ५ मध्य चार जनालाई पक्राउ गरेको छ भने मुख्य योजनाकार मध्येका खड्का फरार रहेका छन् । घटनाको विस्तार जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले चारै जनालाई र बरामद गरिएको ९६० कार्टुन बियर घटना घटाईएको स्थल जिल्ला प्रहरी कार्यालय चितवन पठाउने जानकारी दिनुभयो ।

Comments