काठमाडौं । पत्रकारिताको क्षेत्रबाट विश्व शान्तिको स्थापनामा उल्लेख्य योगदान पुर्याएकोमा पत्रकार दीपेन्द्र तामाङ ग्लोबल पिस अवार्डबाट सम्मानित भएका छन् ।दक्षिण कोरियाको राजधानी सोलमा आइतवारबाट शुरु भएको विश्व शान्ति सम्मेलनको अवसरमा जनता टेलिभिजनका कार्यकारी निर्माता तामाङ उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

पत्रकारिताको क्षेत्रबाट विश्व शान्तिको स्थापनामा उल्लेख्य योगदान पुर्याएकोमा तामाङ सहित विभिन्न देशका ७ पत्रकारहरु लाई उक्त अवार्ड प्रदान गरिएको हो । एचडब्लुपिएलका अध्यक्ष तथा विश्व शान्ति अभियानका प्रमुख अभियान्त मान ही लीले सम्मानित पत्रकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

यसैबीच तेस्रो विश्व शान्ति सम्मेलन आइतवारबाट शुरु भएको छ । उद्घाटन सत्रमा अध्यक्ष मान ही ली र आइडब्लुपीजीका अध्यक्ष नाम ही किमले शान्ति अभियान र विश्वमा शान्तिको अवस्था,सम्भावना,चुनौती र योजनाका बारेमा विभिन्न मुलुकका पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए । सम्मेलनमा विश्वका सयभन्दा बढी मिडिया हाउसका पत्रकारहरु सहभागी छन् ।

सो अवसरमा अध्यक्ष मान ही लीले विश्वमा शान्तिको पुनस्थापना र सुनिश्चितताकालागि जनता र सरकार दुवै सचेत र कटिबद्द हुँदै गएको भन्दै प्रसन्नता व्यक्त गरे । एक एक गरेर हरेक देशमा फैलिदै गएको शान्तिप्रतिको विश्वास र चाहनाले सकरात्मक प्रभाव पारिरहेको लीले बताए । आइतवार नै विभिन्न देशकापत्रकार र नीति निर्माताहरुका तर्फबाट विश्व शान्तिको हालसम्मको उपलब्धी,सम्भावना,अवसर र चुनौती लगायतका विषयका ९ वटा कार्यपत्रहरु प्रस्तुत गरिए ।

सम्मेलन मंगलवारसम्म चल्नेछ ।

Comments

comments