काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालस्थित समकक्षी विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् । नेपालको संविधान दिवसको अवसरमा ट्रम्पले राष्ट्रपति भण्डारीलाई शुभकामना सन्देश पठाएका हुन् ।

ट्रम्पको सन्देश नेपालस्थित अमेरिकी दूतावासले शनिबार शितलनिवास पुर्याएको हो । ३० भदौ २०७४ को मितिमा जारी सन्देशमा यस्तो भनिएको छः

प्रिय राष्ट्रपतिज्यू,
यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा सम्पूर्ण अमेरिकी नागरिकको तर्फबाट तपाईंलाई बधाई छ । यो दिन तपाईंको देशको लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिक तपाईंहरुको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् ।

गत वर्ष तपाईंहरूले यो महत्त्वपूर्ण दिन मनाएपछि नेपालले महत्त्वपूर्ण प्रगति हाँसिल गरेको छ । भूकम्पपछिको पुनर्निर्माणले तिब्रता पाएको छ । लाखौँ नेपाली नागरिकको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ । तपाईंहरुको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको छ । तपाईंहरुको अर्थतन्त्र भावी वृद्धिका लागि तयार अवस्थामा बसेको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईंहरुले २० वर्षमा पहिलोपटक स्थानीय तहको निर्वाचन गर्नुभएको छ, जुन तपाईंहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुङ्गा हो ।

हाम्रा साझा सिद्धान्तहरूप्रति तपाईंको प्रतिबद्धताका लागि धन्यवाद दिँदै शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा हाम्रो सहयोग कायमै रहेको कुरा दोहोर्‍याउन चाहन्छु ।

फेरि पनि यस महत्त्वपूर्ण दिनमा म तपाईँ, तपाईंको परिवार र सारा नेपालीलाई शुभकामना दिन चाहन्छु ।

भवदीय
डोनाल्ड जे ट्रम्प

 

Comments

comments