अब देश प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन तयारीमा

कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने
काठमाडौं । रमेश सापकोटारकांग्रेसले प्रदेश नं. २ को स्थानीय निर्वाचन सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘प्रधानमन्त्रीसहित शीर्ष नेतृत्व प्रदेश नं. २ मा व्यस्त हुनुहुन्छ । शनिबारसम्म सबै नेताहरू फर्किएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमै ध्यान केन्द्रित हुन्छ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘नेताहरू फर्किएपछि आराम नगरी १० र २१ मंसिरको चुनावी तयारीमा लाग्नुहुन्छ ।’

के–के छ गर्नुपर्ने तयारी ?
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समिति बैठक बसेर घोषणापत्र तयारी र प्रचारप्रसार समिति बनाउने तथा संसदीय बोर्ड गठन गर्ने तयारी कांग्रेसको छ । ‘हामीले उम्मेदवारको टुंगो लगाउने संसदीय बोर्ड गठन गरेर समयमै टिकट टुंग्याउन सकेनौँ भने फेरि पनि निर्वाचनको परिणाममा असर गर्छ । समयमै टिकट दिनुपर्छ । यसका लागि पार्टी्भित्र वैधानिक संरचनालाई छिटो पूर्णता दिनुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने ।

कांग्रेसमा पदाधिकारी ६ जना, केन्द्रीय समितिले मनोनीत गर्ने आठजना र संसदीय दलको नेता पदेन सदस्य हुने गरी संसदीय बोर्ड गठन गर्ने व्यवस्था छ ।

रणनीति उत्तिकै महत्व
प्रतिनिधिसभामा १६५ सिटका लागि निर्वाचन हुँदै छ । समानुपातिकबाट ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा गठन हुनेछ । निर्वाचन क्षेत्र घटाइएको र धेरै दल भएकाले अब स्पष्ट बहुमत ल्याउन दलहरूलाई असम्भवजस्तै छ । दुई वा तीन दल मिल्दा मात्र सरकार बनाउने मत पुग्नेछ । यसकारण पनि दलहरूलाई चुनाव पनि जितिने र सरकारसमेत गठन गर्ने गरी चुनावी गठबन्धन गरेर जाँदा मात्र बढी सहजता देखिएको छ । कांग्रेस र माओवादीले यो विकल्पमा पनि छलफल गरिरहेका छन् । ‘कुनै एउटै दलको प्रस्ट बहुमत आउने अवस्था छैन,’ नेता पौडेल भन्छन्, ‘निर्वाचन जित्नका लागि पनि केही रणनीतिक योजना बनाउनैपर्छ । यसका लागि ढिलाइ गर्नुहुन्न ।’

दीर्घकालीन गठबन्धनकै पक्षमा कांग्रेस–माओवादी
कांग्रेसले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा माओवादीसँग केही ठाउँमा चुनावी तालमेल गरेको थियो । तर, तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा मा अपेक्षा गरिएजति तहमा तालमेल हुन सकेन । १३६ मध्ये यी दुई दलले निजगढ र धनुषाको एउटा नगरपालिकामा मात्र चुनावी तालमेल गरेका छन् । तर, प्रचण्डपछि शेरबहादुर देउवाले आलोपालो सत्ता चलाएका यी दुई दलबीच प्रदेश र प्रतिनिनिधि निर्वाचन मिलेरै लड्ने तयारी छ । नेताहरूले नै दीर्घकालीन गठबन्धनलाई प्राथमिकता दिइरहेका छन् ।

प्रदेश संरचनाविहीन कांग्रेस, फेरि केन्द्र नै हाबी
प्रदेश सभाको निर्वाचन निकट आए पनि कांग्रेस आफैँ भने प्रादेशिक संरचनामा गएको छैन । ०७२ मा भएको १३औँ महाधिवेशनमा सात प्रदेश प्रत्येकबाट दुई–दुईजनाको दरले केन्द्रीय सदस्य निर्वाचन गर्नेबाहेक कांग्रेसले प्रादेशिक संरचना गठन गर्न सकेको छैन । यसपटक प्रदेश सभाको टिकट दिन पनि केन्द्र नै हाबी हुने देखिएको छ ।

‘संविधानले संघीयतालाई लागू गर्ने गरी प्रस्ट व्यवस्था गरे पनि हामी अभ्यास गर्ने दलले आफैँ कार्यान्वयन गर्न सकेनौँ,’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘फेरि पनि निर्वाचनअघि पार्टीको प्रादेशिक संरचना बन्ने देखिएको छैन । प्रदेश सभाका लागि उम्मेदवार चयन पनि सीधै केन्द्रबाट हुने भयो ।’

एमालेले सुरु र्गयो प्रदेश र केन्द्रको निर्वाचन तयारी

शुरोजंग पाण्डेरएमालेले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दुवै निर्वाचन तयारी भइसकेको जनाउँँदै असोज पहिलो साताबाट थप कामलाई तीव्रता दिइने बताए ।

असोज पहिलो साता केन्द्रीय कमिटी बैठक
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन तयारीबारे छलफल गर्न एमालेले ६, ७ र ८ असोजमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले उम्मेदवार चयन, घोषणापत्रको मस्यौदा, पार्टीले अघि सार्ने एजेन्डालगायत समग्र विषयमा छलफल गर्ने एमालेले जनाएको छ । ‘दुवै संसद्को निर्वाचनलाई समग्र मार्गदर्शन गर्ने गरी बैठकमा छलफल हुनेछ,’ केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘बैठकपछि तयारीका सबै काम तीव्र ढंगले अघि बढ्नेछन् ।’

उम्मेदवार सिफारिस गर्ने कमिटी बन्दै
एमाले स्थायी समिति बैठकले पुरानो ढाँचाको निर्वाचन क्षेत्रीय कमिटी विस्थापित गर्दै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन कमिटी गठन गर्ने निर्णय गरिसकेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्रका आधारमा ४२ जिल्लामा १३० प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र ७७ जिल्लामा ३३० प्रदेश सभा निर्वाचन समन्वय कमिटी गठन हुने उपाध्यक्ष वामदेव गौतमले बताए । उनका अनुसार ती दुई कमिटीले दसैँआसपासमै प्रतिनिधिसभा र प्रदेश सभामा आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गर्नेछन् । त्यसरी सिफारिस हुने उम्मेदवारहरूको नाममा जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सुझाब लिएर स्थायी समितिबाट अन्तिम टुंगो लगाउने एमालेको तयारी छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएका ३३ जिल्लामा भने जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका रूपमा काम गर्ने एमालेको निर्णय छ ।

सात दिनभित्र निर्वाचन तयारी थाल्न निर्देश
एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सात दिनभित्र बैठक राखेर प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तयारी थाल्न अन्तर्पार्टी निर्देशन जारी गरेका छन् । ‘मंसिर महिनामा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बहुमतका साथ पार्टीको विजय सुनिश्चित गर्न, एमालेको नेतृत्वमा संघीय सरकार र सातवटै प्रादेशिक सरकारहरू गठन गर्ने विश्वसनीय आधार तयार गर्न आजैदेखि केन्द्रित भएर लाग्न जरुरी छ,’ ओलीले निर्देशन दिँदै भनेका छन्, ‘प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचन क्षेत्रहरूमा यस निर्देशनबमोजिमका समन्वय कमिटीका बैठक एक साताभित्र आयोजना गरिसक्न र नियमित पार्टी कामका साथै आगामी निर्वाचनको तयारीमा केन्द्रित भएर लाग्न निर्दे्शित गरिन्छ ।’

सांसद सिफारिस गर्न मापदण्ड बन्ने
एमालेले दुवै संसद्का उम्मेदवारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । आकांक्षीहरूको संख्या धेरै हुने भएकाले मापदण्डका आधारमा छनोट प्रक्रिया अघि बढाउने गरी केन्द्रीय कमिटीमै छलफल गर्ने एमाले तयारी छ । स्थानीय तहको निर्वाचन उम्मेदवार छनोटका लागि पनि एमालेले छुट्टै मापदण्ड बनाएको थियो । स्थानीय तहमा उम्मेदवार बनेर विजयी भएका र पराजित भएकाले भने प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने एमालेले यसअघि नै निर्णय गरिसकेको छ ।

माओवादीमा उम्मेदवारको सिफारिस आउन थाल्यो

वीरेन्द्र ओलीरमाओवादी केन्द्रमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारका आकांक्षीको जिल्लास्तरबाट सिफारिस आउन थालेको छ । जिल्लाबाट प्रदेश कमिटी हुँदै केन्द्रमा धमाधम सिफारिस आउन थालेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘हामी अहिले प्रदेश नं. २ को स्थानीय निर्वाचनमा केन्द्रित छौँ,’ उनले भनिन्, ‘२ असोजमा निर्वाचन सकिएलगत्तै संघ र प्रदेश निर्वाचनमा लाग्नेछौँ ।’ उम्मेदवारको सिफारिससँगै अहिले घोषणापत्र तयार गर्ने काम भइरहेको उनको भनाइ छ ।

दोस्रो जनआन्दोलन पक्षधरतासँग मात्र तालमेल
आगामी निर्वाचनमा माओवादीले दोस्रो जनआन्दोलन पक्षधरतासँग मात्र तालमेल गर्ने निर्णय गरेको छ । संघीयताविरोधी जनमोर्चा र राप्रपासँग तालमेल नहुने, कांग्रेससँग आवश्यकताअनुसार संघ र प्रदेश निर्वाचनमा तालमेल हुने भुसालले जानकारी दिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा अधिकांश गृहजिल्लाबाट उठ्ने तयारी
आगामी प्रतिनिधिसभा निर्वाचनमा अधिकांश माओवादी नेता आफ्नै गृहजिल्लाबाट उठ्ने तयारी गरेका छन् । अहिलेसम्म अध्यक्ष प्रचण्डले मात्र चितवनबाट उठ्ने घोषणा गरेका छन् । अरू नेताले औपचारिक रूपमा कहाँबाट उठ्ने भन्ने विषय सार्वजनिक गरेका छैनन् । नेता नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, रामबहादुर थापालगायत नेता आफ्नै गृहजिल्लाबाट चुनाव लड्ने तयारीमा छन् ।

माओवादीको घोषणापत्र असोज दोस्रो साता
माओवादी केन्द्रले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी असोज दोस्रो सातासम्म घोषणापत्र ल्याउने तयारी गरेको छ । १० र २१ मंसिरमा हुने दुवै निर्वाचनका लागि समयमै घोषणापत्र ल्याउने माओवादीले जनाएको छ । नेता नारायणकाजी श्रेष्ठको संयोकजत्वमा वर्षमान पुन, मणि थापा, पम्फा भुसाल, विश्वभक्त दुलाल सम्मिलित घोषणापत्र लेखन समिति गठन भएको छ ।

‘असोज पहिलो साताभित्र घोषणापत्र सार्वजनिक गर्ने योजनामा थियौँ,’ श्रेष्ठले भने, ‘तर, प्रदेश नं. २ को निर्वाचनले असोज दोस्रो साताभित्र घोषणापत्र सावर्ज्निक गरी जनतासमक्ष र्पुयाउँछौँ ।’ प्रदेश सभाका लागि सम्बन्धित प्रदेशले नै घोषणापत्र बनाउन सक्नेछन् ।

जनताबाट प्रत्यक्ष कार्यकारीको मुद्दा मुख्य रूपमा उठाउने
माओवादी केन्द्रले आगामी प्रतिनिधिसभा निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको मुद्दालाई मुख्य रूपमा उठाउने नेता श्रेष्ठले बताए । जनताबाट प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिलाई सहयोग पुग्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाइने भएको छ । समाजवादउन्मुख समावेशी लोकतन्त्रको विकास र देशमा भएको प्रकृतिक स्रोत–साधनलाई अधिकतम प्रयोग गर्न सक्ने विषय घोषणापत्रमा समेटिने भएका छन् ।

कस्ता–कस्ता सुझाब आए ?
माओवादीले मजदुर, किसान श्रमजीवी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थी, व्यवसायी, पत्रकार, शिक्षक, कलाकारलगायतलाई २५ भदौभित्र घोषणापत्रमा सुझाब उपलब्ध गराउन आह्वान गरेको थियो । देशको राष्ट्रियता कमजोर भएको भन्दै बलियो बनाउन विभिन्न किसिमका सुझाब आएको श्रेष्ठले बताए । ‘राजनीतिक अस्थिरता धेरै भएको भन्दै जनताले जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको हुनुपर्छ, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रूपमा राख्नुपर्ने, आमश्रमजीवी जनताको पक्षमा हुने अर्थतन्त्रको मोडल अपनाउनुपर्नेलगायतका सुझाब आएका छन्,’ श्रेष्ठले भने ।

संघीय समाजवादी फोरम छलफलमा
संघीय समाजवादी फोरमले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु गरेको छ । फोरमले दुवै निर्वाचनमा उम्मेदवार हुन इच्छुक नेतालाई जिल्लामा जनसमर्थन बटुल्न निर्देशन दिइसकेको छ । वरिष्ठ नेता अशोक राईले स्थानीयस्तरमा जनसमर्थन पाएको नेतालाई जिल्ला समितिले सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिइसकेको बताए । प्रदेश नम्बर २ को निर्वाचनको तयारीका कारण भौतिकभन्दा बढी मनोवैज्ञानिक तयारी मात्रै भइरहेको उनको भनाइ छ । स्थानीय तह निर्वाचन सम्पन्न भएपछि बस्ने केन्द्रीय समिति बैठकले संसद्को निर्वाचनको तयारी थाल्ने राईले जानकारी दिए ।

राजपाको तयारी के छ ?
राजपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे अझै छलफल थालेको छैन । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका कारण आउने दुई निर्वाचनबारे छलफल नभएको महामन्त्री मनीष सुमनले जानकारी दिए । उनका अनुसार प्रदेश नं. २ को निर्वाचन सम्पन्न भएलगत्तै संघ र प्रदेशको निर्वाचनका लागि छलफल सुरु हुनेछ ।

कस्तो छ प्रदेश र प्रतिनिधि निर्वाचनका लागि आयोगको तयारी ?
निर्वाचन आयोग प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा पनि सक्रिय छ । आयोगले मतपत्रको ढाँचालाई अन्तिम चरणमा पु¥याएको छ भने आवश्यक नियमावली तथा निर्दे्शिकाको मस्यौदा तयार गरिरहेको सहसचिव नवराज ढकालले बताए । निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाख ५० हजार जनशक्ति आवश्यक पर्ने आयोगको अनुमान छ । त्यस्तै, निर्वाचनका लागि खरिद गर्नुपर्ने सामग्रीहरूको सूची तयारी पार्ने काम भइरहेको छ । नङमा लगाउने मसी, छेकाबार, पन्चिङ मेसिन, स्ट्याम्प प्याड, स्ट्याब्लर, डटपेनलगायत ६७ प्रकारका सामग्री निर्वाचनमा आवश्यक पर्छ । आयोगले १६५ निर्वाचन क्षेत्रमा १८ हजार ६ सय मतदान केन्द्र तय भएको जनाएको छ ।

Comments

comments