काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिकास्थित बाढीपीडितका लागि अर्को नमुना बस्ती बनाइदिने भएको छ । ५ करोड ७५ लाख रुपैयाँको लगातमा चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्न लागिएको फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसले जानकारी दिनुभएको छ ।

स्थलगत अध्ययनपछि फाउन्डेसनले सन्तपुरका दलित समुदायका लागि नमुना वस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको बसोबास छ । यहाँ माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजाति बस्दै आएका छन् । वर्षौँदेखि गरिवीको चेपेटामा परेका उनीहरु साउनमा आएको बाढीले बस्ती नै डुबानमा परेपछि विचल्ली अवस्थामा छन् ।

उक्त क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनीय रहेको फाउन्डेशनले उल्लेख गरेको छ । बस्तीका अधिंकाश बालबालिकालाई स्कुल नपठाउने उनीहरु लगभग सबै अशिक्षित र बेरोजगार छन् । बस्तीमा न कसैको बस्न योग्य घर छ न खाने टुङ्गो नै ।

गरिवीको चपेटा परेका उनीहरुको घर बाढीले भत्काइदिएपछि झन ठुलो पीडाको अवस्थामा छन् । फाउन्डेशनले उक्त क्षेत्रको अध्ययन र त्यहाँ बसोवास गर्नेकोे अवस्था देखेपछि बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्पप्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरी १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्नेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्वजनिक धारा र शौचालय, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरसमेत बनाइने भएको छ ।

फाउन्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेका अनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ । फाउण्डेशनले बाढीपीडितहरुका लागि निर्माण गर्ने बस्ती बनाउन सहयोगको अपिल पनि गरेको छ ।

कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस–सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनामा जस्तै यसपटक पनि नेपालीले साथ दिनेमा विश्वस्त रहेको बताए । फाउन्डेशनका अनुसार छिट्टै शिल्यान्यास गरी बस्ती निर्माण सुरु गरिनेछ ।

 

Please follow and like us:

Comments