काठमाडौँ  । नेपाल विद्युत प्राधिकरणले अबको तीन वर्षभित्र देशलार्इ ऊर्जामा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी १० वर्षमा १२ हजार मेगावाटसम्मको विजुली खपत गर्न सक्ने गरी प्रसारण र वितरण प्रणाली विस्तार गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले विजुली खपत बढाउन विशेष संरचना बनाउने काम अघि बढाइएको जानकारी दिनुभयो । निर्माणाधीन जलविद्युत आयोजना चाँडो भन्दा चाँडो निर्माण पुरा गरेर देशलाई ऊर्जामा आत्मनिर्भर बनाइने उहाँको भनाइ थियो ।

प्राधिकरण प्रमुखका रूपमा आफ्नो एक वर्षे कार्यकालको समीक्षाका क्रममा घिसिङले यस अवधिमा अलपत्र र निर्माणाधीन आयोजनाको कामलाई तीव्र पारिएको बताउनुभयो । घिसिङले भूकम्पपछि बन्द भएका १११ मेगावाटको रसुवागढी, र १०२ मेगावाटको मध्यभोटेकोसीसहितका जलविद्युत परियोजनाको कामलार्इ तीब्ररूपमा अघि बढाइएको बताउनुभयो ।

आफू प्राधिकरण प्रमुख भएर आउँदा दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ हुने गरेको स्मरण गर्दै घिसिङले अहिले औद्योगिक क्षेत्रमा साँझको बेला केबल २ देखि ३ घण्टामात्रै लोडसेडिङ हुने गरेको बताउनुभयो । देशैभर लोडसेडिङ अन्त्य भइससेको बताउँदै घिसिङले अबको तीन वर्षमा मुलक स्वदेशी ऊर्जामा आत्मनिर्भर बनिसक्ने उल्लेख गर्नुभयो ।

Comments

comments