कञ्चनपुर ।  महाकाली जनसेवा मावि हल्दुखाल कञ्चनपुरमा कक्षा ८ मा अध्ययनरत एक किशोरको हत्या भएको छ । स्कुल नजिकैको झाडीमा फालिएको अवस्थामा हराएको चार दिनपछि १३ वर्षीय तिलक चन्दको शव भेटिएको हो ।

मृतक चन्द यही भाद्र २५ गते स्कुलबाटै हराएका थिए । आफना सहपाठीसँगै स्कुल बाहिर खेल्न निस्केका उनी साँझसम्म घर नफर्किएपछि  खोजी गरिएको थियो । कक्षा ८ मा अध्ययनरत आशीष अधिकारीसँग खेल्न गएका उनी फर्केका थिएनन् । उनको शव चार दिनपछि बुधबार साँझ ७ बजेको समयमा घाँस काटने महिलाहरुले दुर्गन्धित अवस्थामा भेटेका थिए ।

प्रहरीले उनको हत्या गरेको आशंकामा आशीष अधिकारीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । हत्याको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयबासिन्दाले तिलकको हत्यामा संलग्न भएको भन्दै आशीषको घरमा आगजनी र तोडफोड प्रयास गरेका छन् ।

घटनास्थलमा प्रहरीको ठुलो टोली परिचालन गरिएको छ । प्रहरीले आशीषसँगै विशाल चन्द र प्रकाश थापालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दा प्रकाश चन्दले स्कुल प्रशासनको लापरवाहीका कारण घटना भएको आरोप लगाएका छन् । स्कुल प्रशासन र प्रहरी प्रशासनको कमजोरीका कारण हत्याको जानकारी समयमै पाउन नसकिएको उहाँले बताउनुभएको छ ।

स्थानीय बासिन्दा गोविन्द बल्लब जोशीले सबैतिर खाजतलास गर्दा नभेटिएका किशोर धेरै दिनपछि मृत भेटिनु स्कुल प्रशासन र प्रहरी प्रशासनको कमजोरी रहेको बताउनुभएको छ  । प्रशासनको कमजोरीका कारण दिनप्रतिदिन घटना भइरहेको समेत उहाँको भनाइ रहेको छ ।

घटना संलग्नबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक टक्कर स्वारले बताउनुभएको छ । किशोरको कानको सुनको रिङ्ग लिनकै लागि हत्या भएको स्थानीय बासिन्दाको आशंका रहेको छ । हत्या पछि रिङ्ग बेच्ने प्रयास गरिएको समेत खुल्न आएको छ ।कञ्चनपुरमा केही महिना यता हत्याका श्रृंखलाबद्ध घटना भइरहेका छन् ।

Comments

comments