बारा । नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको बाराको निजगढ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलसहित प्रचार तीव्र पारेका छन् ।

पहिलो र दोस्रो चारणको निर्वाचनका अधिशं स्थानमा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले तेस्रो चरणको निर्वाचनमा पनि बाराको निजगढमा चुनावी तालमेल गरेर प्रचारप्रसारलाई तीव्र बनाएका हुन् ।

प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहमा अन्य प्रदेशको जस्तो कांग्रेस र माओवादीको चुनावी तालमेल देखिएको थिएन । लामो समयदेखिको बर्चश्व रहेको निजगढमा एमालेलाई पराजित गर्न भन्दै दुई पार्टीले मेयर–उपमेयरसहित केही वडामा समेत तालमेल गरेका छन् ।

गठबन्धन दलको तर्फबाट कांग्रेसका सुरेश खनाल मेयर र माओवादी केन्द्रका बेनीबहादुर मोक्तान उपमेयर पदको प्रतिस्प्रधामा रहनुभएको छ । जित्ने योजना बनाएर प्रचार तीव्र पारिएको र निजगगढको विकास र समृद्धिका लागि तालमेल भएको गठबन्धनबाट मेयर पदका उम्मेदवार सुरेश खनालले बताउनुभएको छ ।

मेयर पदका उम्मेदवार खनालले जनताको मागअनुसार माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नुपरेको बताउनुभयो । नगरपलिकाको वडा नं. ५ र ६ मा दुई दलको तर्फबाट नेपाली कांग्रेसका सहदेव गौतम र केशव राउत अध्यक्ष पदको प्रतिस्पर्धामा रहेको समेत उहांले जानकारी गराउनु भएको छ ।

लामो समयदेखि एमालेको एकलौटी प्रभावमा रहेको निजगढमा कांग्रेस माओवादी गठबन्धनपछि दुवै दलका कार्यकर्ता उत्साहपूर्वक चुनाव प्रचार अभियानमा लागेको मेयरका उमेदवार खनालको भनाई छ ।
यता कांग्रेस माओवादी केन्द्र गठबन्धनविरुद्ध एमालेले मेयरमा यम बहादुर खड्का (नारायण) लाई उम्मेदवार बनाएको छ ।

यसअघि निजगढ गाविस–७ बाट २ पटक वडाअध्यक्ष निर्वाचित खड्का स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । मेयर पदमा खड्काको उम्मेदवारीसँगै एमाले कार्यकर्ता पनि उत्साहका साथ प्रचार अभियानमा जुटेका छन् ।

चुनावमा एमालेको लोकप्रियताबाट डराएर कांग्रेस र माओवादीले गठबन्धन गरेका एमलेबाट मेयरका उम्मेदवार खड्काको भनाइ छ ।

Comments

comments