विराटनगर । पहिलो पटक नेपालमा आयोजना भएको नेपाल आइडलमा टप ३ मा पुगेका मोरङ उर्लाबारीका गायक निशान भट्टराईलाई गृहनगरमा स्वागत गरिएको छ ।

मंगलवार गृह नगर आइपुगेका निशानलाई समर्थकहरुले स्वागत गरेका हुन् । निशान भट्टराई जिताऔं अभियानले उर्लाबारी चौकमा आयोजना गरेको स्वागत कार्यक्रममा निशानले गीत गाँउदै भोट मागेका छन् । पूर्वबाट नेपाल आइडल बनाउन आव्हान गर्दै उनले आफूलाई जतिसक्दो बढी भोट गरी जिताउन अपिल गरेका छन् ।

गृह नगरमा आउँदा आफूले अत्याधिक माया र सम्मान पाएको बताए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले निशानलाई स्वागत गर्दै नगरबासीहरुलाई भोटका लागि आव्हान गरेका छन् । नेपाल आइडलका नाममा सामाजिक सञ्जालमा फेक आइडी बनाएर जातीय सद्भाव भड्काउने काम भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन् ।

अभियानका संयोजक चन्द्रबहादुर भट्टराई(भरत) ले निशान प्रतिभाशाली गायक भएकाले सबै एकजुट भएर भोट गर्नु पर्नेमा जोड दिएका छन् । निशानले मंगलबारै विराटनगर, इटहरी, खोेर्साने, पथरी, उर्लाबारी–३ मंगलबारे र उर्लाबारी–४ आइतबारेमा समर्थक तथा शुभेच्छुकहरुसंग भेटघाट गरेका छन् ।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले निशान पूर्वका शान भएकाले सबैले एकजुट भएर भोट गरी जिताउनु पर्ने बताएका छन् । उनले महानगरबासीहरुलाई निशानका लागि भोटको आव्हान गर्दै आफ्नो तर्फबाट भोट गर्ने प्रतिबद्धता जनाएका छन् ।

निशानले विराटनगरमा बाढी पीडित बिद्यार्थीहरुलाई शैक्षिक साम्रगीसमेत वितरण गरेका छन् । त्यस्तै, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पनि निशानलाई जिताउन आव्हान गरेका छन् । इटहरीमा निशानले हजारौं दर्शकको सहभागितामा आफ्नो प्रस्तुति दिनुको साथै भोट मागेका थिए ।

दर्शकहरुको क्रेजलाई थाम्न नसकेर निशानलाई प्रहरी कार्यालय पु¥याइएको थियो । प्रहरीको सहयोगमा उनलाई गाडीमा हालेर उर्लाबारीतर्फ ल्याइएको थियो ।

Comments

comments