विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो परेमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध छ ।’

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रसस्त रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो ।

Comments

comments