एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ । प्योङयाङले हालै क्षेप्यास्त्र परीक्षण गरेकोले उसलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको सदस्य राष्ट्रहरुले बताएका छन् ।

रुस र चीनले पनि राष्ट्रसंघले लगाएको नयाँ प्रतिबन्धमाथि सहमति जनाएको छ । नयाँ नयाँ प्रतिबन्धहरु प्योङयाङले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित छ ।

संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाको कच्चा तेल निर्यातमाथि प्रतिबन्ध लगाएको छ ।

सुरक्षा परिषद्ले प्योङयाङको एउटा महत्त्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले अन्तराष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् ।

सन् २००६ यता सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्धका नौवटा प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सोमवार उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ मार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहेको भन्दै अमेरिकालार्ई ठूलो पीडा र दुःख दिने चेतावनी दिएको थियो ।

Comments

comments