मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको आफ्नै सामुदायिक भवन बनाउने योजना केही समय अगाडी देखि नै चर्चाको विषय बनिरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना गरिने भएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो ।

एएनएमसीले गत शनिबार अष्ट्रेलियन कलेज फुट्सक्रेमा विभिन्न संघ संस्था तथा समुदायका प्रतिनिधिहरुसंग आयोजना गर्न लागिएको सप्ताह पुराण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको थियो । उक्त छलफलमा पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत हुने सप्ताह पुराण, आगामी १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म हुने निर्णय गर्दै त्यसको लागि आवश्यक तयारिको लागि चर्चा गरिएको थियो ।

यसको साथै कार्यक्रममा उपस्थित सबैको सर्वसम्मतमा ५०१ महायज्ञ व्यबस्थापन मुल समारोह समिती बनाउने निर्णय गरियो। जसअनुसार,  समितिको अध्यक्षमा डा: चन्द्र दिपक पोखरेल, मूख्य सचिवमा केसव कंडेल, उपाध्यक्षमा जोग लिम्बु, सल्लाहकारमा एनआरएनका अध्यक्ष शेष घले र भिक्टोरीयाका लागि अवैतानिक राजदुत चन्द्र योञ्जन, कोषाध्यक्षमा अनुपम पोखरेल , कार्यकारी कोषाध्यक्षमा राजेश आचार्य, सचिवमा सुनिल भण्डारीलाई चयन हुनुभएको छ ।

उक्त छलफल कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने, एनआरएनए भिक्टोरीया संयोजक केशव कंडेल, न्याभका अध्यक्ष डा: अनुपम पोखरेल लगायत विभिन्न समूहका प्रतिनिधि तथा समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । फेसबुक लाइभ मार्फत पण्डित दिनबन्धु पोखरेल समेत छलफलमा सहभागी हुनुभएको थियो । उहाँले हाल सम्म गरेका कार्यक्रमहरु भव्यताका साथ सफल भएको र विश्वलाई नेपालले नेतृत्व गर्नु पर्छ भन्ने मुल मन्त्र बोकेर आफुले यस पुन्य काम गरेको बताउनुभएको थियो। दक्षिणाको कुरामा, श्रद्धाले जति हुन्छ शिरोपर गर्ने भन्दै उहाँले अमेरीकाको न्ययोर्कमा भएको पुराणसँग जोडीएर फैलाएको अफवाह केबल भ्रामक र कपोकल्पीत भएको कुरा प्रस्ट पार्नु भयो।

 

यसको साथै पण्डित पोखरेलले घर-घरबाट उठौ, शहर शहरबाट जुटौ ,यो महाअभियानमा कोही पनि नछुटौ, सक्नेले धेरै दान गरौ, नसक्नेले थोरैदान गरौ, केही न केही त अवश्य गरौ, यहाँ नगरे कहाँ गर्ने,अहिले नगरे कहिले गर्ने मैले नगरे कसले गर्ने भन्ने मुल मन्त्र जपेर सबै नेपाली समुदाय मिलेर यस महान कार्यलाई सफल पार्न आग्रह गर्नु भयो।

एएनएमसीले सामुदायिक भवन निर्माणको लागि विगतमा गाला डिनर, च्यारिटी फन्ड लगाएत विभिन्न कार्यक्रमहरु गरेर रकम सङ्कलन गर्दै आएको थियो तर सामुदायीक भवन जस्तो ठुलो प्रोजेक्टको लागि त्यो रकमले नपुग्ने भएकोले समुदायमा रहेका बिभीन्न संघसंस्था, समूह लगायत स्पोर्ट्स क्लव र सबै नेपालीलाई एकताबद्ध गर्दै सप्ताह पुराण आयोजना गर्न लागेको हो। सबैको सहभागितामा भव्यताका साथ् सम्पन्न हुने विश्वास रखिएको उक्त सप्ताह पुराणबाट साढे एक मिलीयन डलर उठाउने लक्ष्य लिइएको छ ।

Comments

comments