काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेस पूर्व सांसदहरुलाई पनि पूर्वपदाधिकारीलाई राज्यले दिँदै आएको पेन्सनसरहको सुविधा  दिनुपर्ने पक्षमा उभिएको छ । यसअघि भ्रष्टाचारीलाई चुनाव लड्न दिने कानुनका लागि उभिएको कांग्रेसले अब सांसदहरुलाई पनि राज्यका पूर्वपदाधिकारीलाई जस्तै सुविधा दिन माग गरेको हो ।

कांग्रेस सांसदहरुले जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन । उनीहरुले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका सचेतक इश्वरी न्यौपानेले जनताको पक्षमा निष्ठापूर्वक काम गरेका पूर्व सांसदहरुलाई राज्यले अपमानजनक व्यवहार गर्न नहुने जिकिर ग गर्नुभयो ।

उहाँले पूर्व सांसदहरुको सम्मानका लागि पनि राज्यले तत्काल सुविधा दिनुपर्ने माग गर्नु भयो । व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको सोमबारको बैठकमा ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सचेतक न्यौपानेले पूर्व सांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गरेकाले अब त्यसो गर्न नमिल्ने धारणा राख्नु भयो ।

कांग्रेसकै अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गर्नुभयो । उहाँले जनताका प्रतिनिधिहरुलाई अब पनि अपमानित गर्ने काम राज्यले गर्न नहुने तर्क पनि गर्नुभयो ।

चित्रबहादुर केसीको आपत्ति

त्यही बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन सामयिक नहुने टिप्पणी गर्नुभयो । उहाँले भूकम्प र बाढीले जनता पीडित भएका बेला राज्यले उनीहरुको सेवालाई उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री÷मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभा वा व्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधानसभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिएको छ । तर कांग्रेस सांसदहरुले भने जनताका निर्वाचित प्रतिनिधि पूर्व सांसदहरुलाई पनि पूर्वपदाधिकारीको मान्यता दिनु स्वभाविक हुने तर्क गरेका छन् ।

Comments

comments