काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले  थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा नेपालले  थाइल्याण्डलाई निर्धारित ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

खेलमा नेपालका लागि अनिल कुमार शाह ९१ रनको पारी खेले । यस्तै, प्रनित थापा मगर ५० , असिफ शेख २१ रनमा पभेलियन फर्किए भने सन्दिप सुनारले ३२, कप्तान दीपेन्द्र सिंह ऐरीले २२ तथा रोहितकुमार पौडेलले २ रन जोडे । उता पवन सराफ २२ तथा किशोर महतो २ रनमा अविजित रहे । बलिङ तर्फ थाइल्याण्डका लागि पैयुपुथ सङ्नार्डले सर्वाधिक ३ विकेट हात पारे ।

प्रतियोगिताकै कमजोर टिम मानिएको थाइल्याण्डविरुद्ध नेपाल सहज जीतको खोजीमा रहनेछ । पहिलो खेलमा जित निकाल्दै नेपाल एसिया कपको लागि सुखद सुरुवात गर्ने दाउमा मैदान उत्रिएको छ ।

छनोटको समूह ए मा रहेको नेपालले दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

Comments

comments