धरान । जोगवनी नाकासम्म आएको रेललार्इ विराटनगर हुँदै धरानबाट चतरासम्म पुर्याउनेबारे बहस सुरू भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै रेल सञ्जाल निर्माणबारे बहस सुरू भएको हो ।

विराटनगरबाट धरान-चतरासम्म रेलसञ्जाल जोड्नेबारेमा जनप्रतिनिधिले नै आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् । शनिबार गरिएको एक कार्यक्रममा धरान उपमहानगकी उपमेयर मञ्जु भण्डारीले विराटगनरबाट धरान हुँदै धनकुटासम्म रेल चलाउने योजना रहेको बताएकी छन् ।

धरान जागर अभियानले आयोजना गरेको बोल्दै उनले भनिन्, ‘धरान-बिराटनगर रेल चलाउन सकियो भने यो क्षेत्रका आर्थिक कायापलट हुनेछ ।’

धरान जागरण अभियानकी संयोजक मनिता घिमिरेले यो रेलमार्गको व्याख्या फरक रूपमा गरिन् । ‘विराटनगरबाट धरान हुँदै चतरासम्म रेल चलाउनुपर्छ । यो परियोजनाका लागि सजिलैसँग बजेट जुट्छ’, उनले भनिन्, ‘बजेट कसरी जुट्छ भन्ने उपाय अब धरान जागरण अभियानले सुझाउने छ ।’

उनले धरान-विराटनगर रेल चलाउन अभियानले कडा आवाज उठाउने बताइन् । मनिताले भनिनन्, ‘धरान सुतेको छ, त्यसैले जगाउन आवश्यक छ ।’ उनले धरान जागरण अभियानले धरानको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताइन् ।

मञ्जु र मनिताले रेलको चर्चा गरे पनि माओवादी नेता अइन्द्रविक्रम बेघा भने यसबारे चुप रहे । उनले मञ्जुलाई कटाक्ष गर्दै भने, ‘योजना नै नाथे त हामीसँग पनि कति छन् कति ? तर लागू गर्ने ठाउँमा पुगिएको छैन । धरानलाई सपनाको सहर बनाउने योजना हामीसँग थियो तर पुरा गर्न सकिएन ।’

जागरण सभामा मञ्जु, मनिता र अइन्द्रको विचार सुनिसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक नारायणराज भट्टराईले पनि यसबारे मुख खोले । ‘धरानमा मात्र होइन, नेपालमै भिजनको अभाव छैन, यस्ता भिजन जति पनि छन् तर अभाव अर्कै चिजको छ’, उनले भने, ‘अभाव हो मिशनको । भिजनलाई लागू गर्ने मिशन हामीलार्इ चाहिएको छ ।’

कांग्रेसका धरान नगर सचिव श्याम पोखरेलले धरान मृत सहर बन्दै गएकोमा चिन्ता जनाए । ‘धरान तलतल झर्दैछ, धरान उजाड ठाउँ बन्ने क्रममा छ’, उनले चिन्ता व्यक्त गर्दै भने, ‘यो ‘डेड सिटी’ बन्ने खतरा छ । यसमा सबै दल र राजनीतिकर्मी गम्भीर बन्नु जरूरी भइसकेको छ ।

Comments

comments