काठमाडौं । तेस्रो अन्तराष्ट्रिय शान्ति सम्मेलन दक्षिण कोरियाको राजधानी सोलमा हुने भएको छ ।

धार्मिक अतिवादका कारण विश्वमा शान्ति खल्बलिदै गएको निष्कर्षसहित सन् २०१४ मा विश्वका १५० राष्ट्रका दश लाख जनाको हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको स्मरणमा विश्व शान्ति सम्मेलनको आयोजना गरिदै आएको छ ।

एचडब्लुपिएलको आयोजनामा हुदै आएको विश्व शान्ति सम्मेलनको यस वर्ष तेस्रो संस्करण हो । सम्मेलन यही सेप्टेम्वर १७ देखि १९ सम्म सोलमा हुदैछ । शान्ति स्थापनाकालागि विश्वव्यापी ऐक्यवद्दता जुटाउने उदेश्यले आयोजना हुने सम्मेलनमा यसपटक नेपाल सहित विश्वका करिब सय राष्ट्रले सहभागिता जनाउने आयोजक एचडब्लुपिएलले जनाएको छ ।

सम्मेलनमा शान्तिकालागि युवा र महिला सहभागिताकाबारेमा समेत छलफल हुने कार्यक्रम छ । यसपटकको सम्मेलन शान्तिको पुनःस्थापनामा सरकारको सहयोगी नीति र समन्वयात्मक भूमिकाको आवश्यकताकाबारेमा छलफल केन्द्रीत हुनेछ ।

सम्मेलनमा संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी,सयभन्दा बढी राष्ट्रका राजनीतिक व्यक्तित्वहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनमा विश्व शान्ति र युद्ध विरामको अवस्था,शिक्षामा शान्ति र संस्कृति समावेश गराउने लगायतका एजेण्डामाथि वहृत छलफल हुनेछ । साथै सम्मेलनमा विश्व शान्तिका लागि सञ्चारकर्मीहरुको विश्वव्यापी सञ्जाल निर्माण सम्बन्धी छलफल समेत हुने कार्यक्रम छ ।

सम्मेलनको दोस्रो दिन शान्ति महोत्सवको आयोजना हुनेछ । उक्त महोत्सवमा झण्डै एक लाख जनाको सहभागिता रहने अनुमान गरिएको छ । यसपटक सम्मेलनको नारा शान्तिका लागि संवाहकसहितको ऐक्यवद्दता तय गरिएको छ ।

सम्मेलनकै क्रममा शान्तिका विषयमा पत्रकारिताका माध्यमबाट उत्कृष्ट योगदान पुर्याएका विश्वका सात जना पत्रकारहरुलाई ग्लोबल पिस एचिभमेन्ट अवार्डबाट सम्मानित गरिदैछ । नेपालबाट जनता टेलिभिजनका कार्यकारी निर्माता दीपेन्द्र दोङ तामाङ उक्त अवार्डबाट सम्मानित हुने भएका छन् । तामाङ हिमालयन कङ्गारुका नेपाल सम्पादक समेत हुन् ।

Comments

comments