काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कारबाही गर्ने बताउनुभएको छ ।

शिलबन्दी गरिएका पसल खुलाउन आग्रह गर्दै पुगेकोे नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीमण्डललाई उहाँले त्यसो भन्नुभएको हो । ‘यो विषय कानुनीरुपमा हल हुन्छ, विद्यमान कानुनले जे दिएको छ त्यसै अनुसार हुन्छ’, उहाँले भन्नुभयो, ‘गलत गरेको छ भने दण्डित हुन्छ, होइन भने केही हुन्न ।’

उहाँले पहुँच छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभएको छ । उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा पुगेको ठाउँमा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति र व्यवहार गर्ने गरेकाले गलत काम गर्ने कारवाहीको भागीदार हुने उहाँको भनाई छ ।

‘राज्यको सशक्त उपस्थिति भएको ठाउँमा मेरो पहुँच छ जे गरेपनि हुन्छ भन्ने हुन्छ भन्ने छ भने सर्वसाधरणलाई कस्तो व्यवहार होला ?’, मन्त्री मण्डलले भन्नुभयो, ‘राज्यमा नियम कानुन छ भन्ने कुराको प्रत्याभूति होस्, अस्तव्यस्तताको अवस्था ट्रयाकमा जाओस भन्ने हाम्रो उद्धेश्य हो ।’

महासंघका अध्यक्ष भवानी राणको नेतृत्वमा आएको टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेकोले शिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेका थिए । त्यसको जवाफमा मन्त्री मण्डलले कारवाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्न गरी सचेत हुन आग्रह गर्नुभयो । ‘कम बिजकमा सामान भित्रयाएको र ठगीने कुरा पनि अस्वभाविक देखिएकोले नियत नै ठगी गर्ने भयो भने राम्रो गर्दैन’, मन्त्री मण्डलले भन्नुभयो, ‘मर्का परेको विषयमा छलफल गर्नुस, तर व्यक्तिले राज्य ठग्नु ठीक भएन ।’

Comments

comments