भैरहवा । भारतको सुनौली–गोरखपुर सडक खण्डको देवपुरचोकमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोरखपुरबाट सुनौलीतर्फ आइरहेको युपी ५३ सिटी ७२०२ नम्बरको टाटा इन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको युपी ५२ टि ४३७७ नम्बरको ट्यांकर एकापसमा ठोक्किँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सका सुनौली सम्बाददाता आलोक जोशीले बताएका छन् ।

मृतकमध्ये अहिलेसम्म कार चालकको मात्र सनाखत भएको छ । उनको नाम अब्दुल हफिज बताइएको छ । मृत्यु हुनेमा २ बच्चा, एक महिला र पाँच पुरुष छन् । ड्राइभर बाहेक सबै मृतकहरु नेपाली भएको बताइए पनि सनाखत हुन नसकेको छैन । दुर्घटनामा नेपाली परेको खबर आउनसाथ त्यसतर्फ प्रहरी पठाइएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार चालकले मादक पदार्थ पिएकाले सहचालकले ट्यांकर चलाइरहेका थिए । ट्यांकरभित्र चालकसँगै अन्य दुई महिला समेत रहेको बुझिएकोछ । घटनास्थल भैरहवाबाट करिब ३५ किलोमीटरको दूरीमा पर्छ ।

शुक्रबार दिउँसो सवा २ बजे भएको यो भयानक दुर्घटनाका क्रममा ट्यांकरसँग ठोक्किएको कार उछिटिएर ५० फिट तल खसेको थियो । यो घटनामा चारजना गम्भीर घाइते भएका छन् । घाइते भएका चारैजनालार्इ गोरखपुरकै एक अस्पतालमा भर्ना गरिएको छ । यि मध्ये सबैको अवस्था गम्भीर रहेको समाचार भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी उद्दारका लागि घटनास्थलमा पुगेको थियो । त्यसक्रममा पुलिस सबै शवलार्इ घटनास्थलबाट निकालेको थियो । ट्यांकरसँग जुधेको कार टुक्रा टुक्रा भएको छ ।

गोरखपुर-सुनौली राष्ट्रिय राजमार्गमा ठुलो आवाजका साथ यी दुर्इ साधन जुधेका थिए । मृतकमध्ये धेरैको शरीर टुक्रा टुक्रा भएको छ । कसैको टाउको र शरीरसमेत छुट्टिएको छ । कारमा सवार रहेका र मृतकहरू सबै नेपाली नागरिक नै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक नेपालीहरूको पहिचान हुन बाँकी रहेको छ । गोरखपुर पुलिसले मृत्यु भएका नेपालीहरूको पहिचान खुलाउने काम गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा संलग्न ट्यांकर चालकलार्इ पुलिसले हिरासतमा लिएको छ ।

 

Comments

comments