काठमाडौँ । व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले एलपी ग्यास ढुवानी गर्ने बुलेट संचालन गर्ने अनुमति भारतबाट लिन सरकारलाई पुनःनिर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले एलपी ग्यास ढुवानीका लागि बुलेट संचालनमा ल्याउने अनुमति लिन भारत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई सचेत गराएको हो ।

व्यवसायीहरुले बुलेट संचालनका लागि गरेको लगानी डुब्न नदिने दायित्व सरकारको भएकाले पनि सो समस्या तत्काल समाधान गर्न भारतसँग कूटनीतिक पहल गर्न पहल फेरी निर्देशन दिनु परेको समिति अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले जानकारी दिनुभयो । नेपाली व्यवसायीहरुले ग्यास ढुवानीका लागि बुलेट संचालन गर्न लगानी गरेपनि संचालनका लागि भारत सरकारले अझै अनुमति दिएको छैन ।

समितिले एलपी ग्यास ढुवानी गर्ने बुलेट संचालन अनुमतिका लागि हालसम्म गरेका कामकार्वाहीको सम्पूर्ण विवरण ३ दिन भित्र समितिमा पेश गर्न पनि आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

बैठकमा बोल्दै नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाबहादुर खड्काले एलपी ग्यास ढुवानीका लागि बुलेट संचालनमा ल्याउन आयल निगमले पहल गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समस्या समाधानका लागि पहल भईरहेको भएपनि ठोस परिणाम अझै प्राप्त नभएको पनि बताउनु भयो । भारतले ग्यास बुलेट संचालनका लागि एक्सप्लोसिप सर्टिफिकेट नदिएपछि नेपाली व्यवसायीहरुले एलपी ग्यास ढुवानी गर्न पाएका छैनन् ।

Comments

comments