वीरगन्ज । दुई नम्बर प्रदेशको एकमात्र वीरगन्ज महानगरपालिकामा धनाढ्यहरुबीच मेयरका लागि भिडन्त हुँदैछ । देशकै ध्यान अहिले वीरगन्ज महानगरसँगै दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रित छ ।

मधेस केन्द्रित आन्दोलन गरेको राष्ट्रिय जनता पार्टीसमेत सहभागी भएपछि आगामी असोज २ गते हुने निर्वाचन कार्यक्रमले यो प्रदेश उत्सवमय जस्तो देखिँदैछ ।

दुई नम्बर प्रदेशको सम्भावित राजधानी देशकै आर्थिक मेरुदण्ड वीरगन्ज महानगरको चुनावी प्रतिस्पर्धा र त्यसमा सहभागी उम्मेदवारहरु अहिले चर्चाको केन्द्रमा छन् । वीरगन्जको मेयरमा सबैजसो राजनीतिक दलहरुले धनाढ्यहरुलाई उठाएपछि यहाँका चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ ।

कांग्रेसबाट द्विवेद्वी मैदानमा

नेपाली कांग्रेसले वीरगन्ज महानगरको मेयरका लागि पार्टीका जिल्ला सभापति समेत रहेका अजय द्विवेद्वीलाई मैदानमा उतारेको छ । द्विवेद्वी वीरगन्ज महानगरपालिकाका पूर्वउपमेयर र पूर्वसभासद समेत हुन् । राजनीतिक छवि भएका द्विवेद्वी महानगरको चुनावी प्रचारमा जोडतोडले लागेका छन् । वीरगन्जलाई हराभरा सहर बनाइ यहाँको पूर्वाधार विकासमा जोड दिने उनको एजेण्डा छ ।

एमालेबाट मेडिकल कलेज मालिक प्रतिस्पर्धामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वीरगन्ज महानगरको मेयरका लागि हालै मात्र खारेजीमा परेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई मैदानमा उतारेको छ । कांग्रेसले धनाढ्यलाई टिकट दिएपछि ‘फलामलाई फलामले काट्ने’ रणनीति अनुसार एमालेले पनि चुनावी खर्चमा प्रतिस्पर्धा गर्न सक्ने अन्सारीलाई मेयरको टिकट दिएको हो ।

दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको तर्फबाट पर्सा क्षेत्र नम्बर दुईमा उम्मेदवार बनेका उनी पराजित भएका थिए । मेडिकल क्षेत्रबाट पैसाको बलमा राजनीतिमा उदाएका पछिल्ला नेता हुन् अन्सारी । महानगरपालिकाको करिब ९ करोड कर नतिरेको आरोप लाग्न थालेपछि उनले नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजनीति पृष्ठभूमि लामो छैन । वीरगन्जलाई स्मार्ट सिटी र शिक्षाको हब बनाउने लगायत एजेण्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन् ।

माओवादीबाट कान्छा उम्मेदवार रहबर

दोस्रो सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरको मेयरका लागि युवा उम्मेदवारलाई टिकट दिएको छ । वीरगन्ज महानगरको मेयरको दौडमा रहेका रहबर अन्सारी अहिले चर्चाको केन्द्रमा छन् । वीरगन्ज महानगरमा मेयरका उम्मेदवारमध्ये चर्चित नाम बनेको छ रहबर अन्सारी । सुशासन विषयमा हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट स्नातकोत्तर ३१ वर्षीय अन्सारी राजनीतिमा नयाँ अनुहार हुन् । वीरगन्ज–गण्डक अस्पतालका सञ्चालक समेत रहेका अन्सारीले वीरगन्ज महानगरलाई विकासको माध्यमबाट अन्य भन्दा महानगर भन्दा उत्कृष्ट बनाउने सपना बोकेका छन् । ।

उद्योगपति सरावगी फोरमबाट लड्दै

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि धनाढ्यलाई नै मेयरको चुनावी मैदानमा उतारेको छ । कांग्रेस, एमाले र माओवादीका धनाढ्य उम्मेदवारसँग प्रतिस्पर्धामा खरो उत्रने गरी फोरम नेपालले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष विजय सरावगीलाई मेयरको टिकट दिएको छ ।

व्यापारिक पृष्ठभूमिबाट आएका संघीय समाजवादी फोरमबाट मेयरका उम्मेदवार सरावगी तीन पटक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भइसकेका छन् । उनी पनि राजनीतिक कार्यकर्ता होइनन्, तर व्यापारिक नगरी वीरगन्जमा उनको प्रभाव देखेर फोरमले मेयरमा उठायो । आफू समाज सेवामा समेत लागेकाले वीरगन्जको विकासमा प्रतिवद्ध रहेको उनको तर्क छ । ‘दुई दशकदेखि हुन नसकेको वीरगन्जको विकास अबको केही वर्षमै गरेर देखाउँछु’, उनी यही उजेण्डासहित मतदाता फकाउन जुटेका छन् ।

चार पटकका मेयर फेरि मैदानमा

चार पटकसम्म वीरगन्ज नगरेको मेयर भइसकेका विमल श्रीवास्तवलाई राष्ट्रिय जनता पार्टीले पत्याएन । राजपाका महामन्त्रीसमेत रहेका उनको साटो राजपाले अर्का महासचिव राजेशमान सिंहलाई मेयरको टिकट दियो । राजपाले नपत्याएपछि विमल तत्कालै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरे । गच्छदारले पनि आफ्नो कम प्रभाव रहेको वीरगन्ज महानगरको मेयरको टिकट विमललाई दिन कुनै कन्जुस्याइँ गरेन । वीरगन्ज महानगरको मेयर पदको उम्मेदवार श्रीवास्तव भने आधारभूत तहबाटै राजनीतिमा होमिएका व्यक्ति हुन् । महानगरको विकासका लागि आफूसँग धेरै एजेण्डा रहेको बताउँछन् ।

राजपाबाट राजेशमान सिंह

२०५४ सालमा वीरगन्ज नगरपालिकाको सदस्य भएर राजनीतिमा सक्रिय भएका राजेशमान सिंह राजपाबाट महानगरको मेयरमा भिड्दैछन् । तत्कालीन नगरसभाको अध्यक्षमा समेत निर्वाचित सिंह राष्ट्रिय मधेस समाजवादी पार्टीबाट दोस्रो संविधान सभाको चुनावमा पराजित भएका थिए । युवामाझ लोकप्रिय नेताकारुपमा चिनिन्छन् उनी । उनको मूख्य पेशा भनेको ठेक्कापटा हो । कुनैबेला राजनीतिका गुरु चेला कहलिएका श्रीवास्तव र सिंह दोस्रो संविधानसभाको चुुनावदेखि एकअर्काका प्रतिस्पर्धी भएका हुन् ।

के होला परिणाम ?

मधेस आन्दोलन र भारतीय नाकाबन्दीको केन्द्रविन्दु वीरगन्जमा उम्मेदवारीको विषयलाई लिएर राजपा फुट आएपछि ठुला दलहरुलाई फाइदा पुग्ने आकलन गर्न थालिएको छ । संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका उम्मेदवारबीच यहाँ कडा प्रतिस्पर्धा पूर्वअनुमान गरिएको छ । तर, एमाले, फोरम नेपाल र माओवादीका उम्मेदवारलाई पनि कम आँक्न सक्ने अवस्था छैन ।

Comments

comments