चितवन । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

‘मैले देशभरको चुनावी अनुभव बटुलेको छु, अब आफ्नै जिल्लाबाट चुनाव लड्ने घोषणा गर्दछु,अध्यक्ष प्रचण्डले भन्नुभयो ।  प्रचण्डले चितवनको भूमिकालाई राष्ट्रिय राजनीतिको अग्रस्थानमा पुर्याउन पनि आफू चितवन आउन लागेको बताउनुभयो ।
‘भौगोलिक रुपमा केन्द्र बनेको चितवनलाई अब राजनीतिक भुमिकालाई अग्रस्थानमा लैजान म आउन लागेको हुँ’, उहाँले भन्नुभयो, ‘यसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिन सक्छ।’

चितवनको विकासको  दीर्घकालिन  गुरुयोजना बनाएक उहाँको जिकिर थियो । ‘भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ। मैले यसबारे चिनियाँहरुसँग पनि कुरा गरेको छु’, दाहालले भन्नुभयो, छिट्टै यसको गुरुयोजना बन्छ।’

चितवन देशकै राजनीतिक र आार्थिक गतिविधिको भएको दाहालको भनाइ थियो । ‘यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ’, दाहालले भन्नुभयो, ‘नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकिकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड र सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेको छु।’

अध्यक्ष प्रचण्डले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै यहाँका जनताले आफ्नो भूमिका र पार्टीको योगदान बुझ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूले कुन क्षेत्रबाट लड्ने नखुलाए पनि क्षेत्र नं.३ मा तयारी थालेको बताइएको छ ।

‘शान्ति प्रक्रियामा आएपछि पहिले रोल्पा, काठमाडौं र मधेसबाट चुनाव लडेँ। त्यहाँका जनताले मलाई मतदान गरेर विजयी पनि गराए’, प्रचण्डले भन्नुभयो, ‘उनीहरूकै मतले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो,अब देशलाई आर्थिक समृद्धि तिर लैजानु छ । त्यसको नेतृत्व अब चितवनबाट हुन्छ।’

प्रचण्डले अब देशमा तीव्र आर्थिक विकास हुनु जरुरी रहेको भन्दै यसको नेतृत्व नै माओवादीले गर्ने बताउनुभयो । उहाँले यसैका लागि आफ्नै गृहजिल्ला आएको बताउनुभयो ।

Comments

comments