एजेन्सी । हामी ठान्छौँ, मताधिकार प्रजातन्त्रको लामो लडाइँपछि मानिसले प्राप्त गरेको अधिकार हो। तर एक नयाँ अध्ययनमा अफ्रिकाका जंगली कुकुरहरुले पनि मतदान गर्ने गरेको तथ्य फेला परेको छ।

बेलायती, अष्ट्रेलियाली तथा अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको एक संयुक्त अध्ययनमा यस्तो तथ्य फेला परेको हो। बोत्स्वाना प्रिडेटर कन्जरभेसन ट्रष्टमा लोपोन्मुख प्रजातिका जंगली कुकुरहरुमा गरिएको अनुसन्धानमा कुकुरहरुले ‘हाच्छ्युँ’ गरेर मतदान गर्ने तथ्य पत्ता लागेको हो।
जंगली कुकुरहरुले शिकारमा जाने समय तय गर्नका लागि हाच्छ्युँ गरेर समर्थन जनाउँछन्।

युनिभर्सिटी आफ न्यु साउथ वेल्स अष्ट्रेलिया, ब्राउन युनिभर्सिटी अमेरिका र स्वान्सी युनिभर्सिटीज् कलेज अफ साइन्स बेलायतका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा शिकारमा जानुअघि कुकुरहरुले जम्मा भएर आपसमा अभिवादन गर्ने र उचित समयमा शिकारमा जाने निर्णय गर्ने गरेको देखिएको छ।

अनुसन्धानकर्ताहरुले यस्ता पाँच अलग समूहका ६८ भेलाको अनुगमन गरेका थिए। जसमा कोरम पुर्‍याउनका लागि कुकुरहरुले हाँच्छ्यु गर्ने गरेको पाइएको स्वान्सी युनिभर्सिटीका डा। एन्ड्र्यु किङले जानकारी दिएका छन्।

‘हाँच्छ्यु गर्ने कार्य कोरम पुर्‍याउनका लागि गरिन्छ र समूहको व्यवहार परिवर्तन गर्नका लागि हाँच्छ्युँको निश्चित संख्या पुग्नैपर्छ,’ किङले भने।

सो अध्ययन यही साताको ‘प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बीः बायोलोजिकल साइन्स’ नामक जर्नलमा प्रकाशित छ।

‘ती कुकुरहरुमा हाच्छ्युँ गर्नुले निर्णय प्रक्रियालाई प्रभावित गर्दछ,’ अनुसन्धानकी सहलेखक रिना वाकर भन्छिन्।

यद्यपि जंगली कुकुरहरुमा पनि सबैको मत बराबर नरहेको अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। उनीहरुले समूहमा प्रभावशाली कुकुरले शिकारमा जाने पहल सुरु गरेर हाच्छ्युँ सुरु गरेको हो भने तीन पटकमै समूह हिँड्ने तर कमजोर सदस्यले त्यसको सुरुवात गरेको हो भने समूह हिँड्न १० पटकसम्म हाच्छ्युँ गनुपर्ने देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

जंगली कुकुरहरु अफ्रिकामा मात्र पाइन्छन् र सामान्यतयाः करिब १० ओटाको समूहमा बस्छन्।

Comments

comments