काठमाडौं । आजभोलि एउटा कम्प्युटर गेम बजारमा आएको छ । त्यसको नाम ब्लु ह्वेल गेम हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ ।

यो अनलाइन गेम रुसबाट शुरु भएको हो । यो गेमबाट प्रभावित भएर हालसम्म ३ सय जना किशोरकिशोरीले ज्यान गुमाइसकेका छन् । दक्षिण एसियाली देशमा पनि यसको प्रभाव देखिन थालेपछि सर्वत्र चिन्ता बढेको छ । भारतका एक किशोरले गत महिना यही गेमको प्रभावमा अग्लो भवनबाट हामफालेर ज्यान गुमाएका थिए ।

यसलाई जो कोहीले खेल्न सक्दैनन् किनकि यसलाई डाउनलोड गर्न सकिँदैन । ह्वाट्सएप र फेसबूक प्रोफाइलमार्फत यो गेमको इन्भिटेसन लिंक पठाउन सकिन्छ । गेमका एडमिनहरूले नै यो गेम कसले खेल्छ भनी निर्धारण गर्छन् ।

यो गेममा १० देखि १८ वर्षसम्मका बालबालिकालाई निशाना बनाइन्छ । गेमको नियम बच्चाहरूले पालन गर्छन् भन्ने लागेपछि एडमिनले फेसबूक प्रोफाइलमार्फत गेम खेलाउँछन् ।

यो गेम ५० दिनसम्म खेलिन्छ । सबै दिन गेम खेल्ने बच्चालाई आफ्नो हातलाई ब्लेडले काटेर त्यसको फोटो एडमिनलाई पठाउन लगाइन्छ ।
त्यसपछि बच्चालाई बिहान छिट्टै उठेर हरर फिल्म हेर्न भनिन्छ । अनि बच्चालाई नजिकको कुनै अग्लो भवनको सबभन्दा माथि गएर कुनामा उभिन लगाइन्छ ।

दिनदिनै टास्क पूरा भएपछि हात काटेर ह्वेलको चित्र बनाउन भनिन्छ । यसबीच बच्चालाई कसैसँग कुरा नगर्न भनिन्छ ।

पचासौं दिनमा बच्चालाई तिमी अब ह्वेल बन्यौ भनिन्छ र कुनै अग्लो भवनबाट हामफालेर आत्महत्या गर्न लगाइन्छ ।

द ब्लु ह्वेलप्रति अमिताभ बच्चनको गम्भीर चासो

द ब्लु ह्वेल च्यालेन्ज भिडियो गेम खेलेर भारतमै एक बच्चाले आत्महत्या गरेपछि बलिउडका अभिनेता अमिताभ बच्चनले चिन्ता ब्यक्त गरेका छन् ।

आफ्नो ट्विट मार्फत् बच्चनले लेखेका छन् ‘भयानक खबर पढे, इन्टरनेटमा बालबालिका खतरनाक खेल खेलिरहेका छन् । जिन्दगी भनेको वाँच्नको लागि हो, समय अगावै आफ्नो जिन्दगी गुमाउनु होईन ।’

हालै ३० जुलाईमा मुम्बाईका १४ बर्षिय बालक मनप्रीत सिंह साहनीले द ब्लु ह्वेल च्यालेन्ज गेम खेलेर आफ्नो घरको छतवाट हाम फालेर आत्महत्या गरेका थिए । जानकारहरुका अनुसार यो भिडियो गेमले बालबालिकाहरुलाई उक्साएर आत्महत्या गराउने गर्छ ।

Comments

comments