काठमाडौं । प्वाईन्ट मिडियाले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्ने भएको छ ।

प्वाईन्ट मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्वन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्वन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

‘‘मिस टुरिजम–२०१७’ मा सहभागी हुन चाहनेहरुका लागि सोमबारबाट असोज ६ गते शुक्रबारसम्म देशभर आवेदन खुल्ला गरिएको छ । ‘मिस टुरिजम–२०१७’ का लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

मिस टुरिजम–२०१७ लाई ५० हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर नियुक्त गरिने जनाईएको छ ।

मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आफूहरुले अघिल्लो वर्ष नै देखेको बताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने बताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रोडक्ट भएकोले यसलाई सफल पार्न समग्र पत्रकारहरुले सहयोग गर्ने बताए । कार्यक्रममा मिस टुरिजम–२०१६ ओरुषा थापाले आफ्नो अनुभव सुनाईन ।

Comments

comments