रौतहट । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको चुनावमा नेतृत्वले माओावदीसँग तालमेल प्रयास गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ता त्यसविरुद्ध उभिएका छन् ।

माओवादी केन्द्रसँग तालमेलको प्रयास भइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका कार्यकर्ता त्यसविरुद्ध उभिँदै चुनाव बहिष्कारसम्मको चेतावनी दिएका छन् ।

कांग्रेस कार्यकर्ताले चन्द्रपुर नगरपालिका पार्टी नेतृत्वले सत्तारुढ माओवादी केन्द्रबीच प्रदेश २ को आसन्न चुनावमा तालमेलको कोशिसप्रति असन्तुष्टि जनाएका छन् । चन्द्रपुरमा कांग्रेस नेताहरुले चुनावी तालमेल गरिए चुनाव बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ । तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।

 

Comments