काठमाडौँ । चीनबाट नेपालको बाटो हुँदै भइरहेको सुन तस्करीमा उच्च तहकै नेता र कर्मचारीको संलग्नता हुन सक्ने दाबी एकजना मन्त्रीले नै गरेका छन् ।

सोमबार नेपाल प्रहरीले राजधानीको ठमेलस्थित क्षेत्रपाटीबाट चीनको केरूङ नाकाबाट भारत लैजान भित्र्याइएको करिब ४३ करोड रूपैयाँको ८८ किलो सुन बरामद भएपछि यसमा उच्च तहका नेता र कर्मचारीकै संलग्न रहेको दाबी सरकारकै मन्त्रीले गरेका हुन् ।

सुन तस्करीको विषयमा मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले यस्तो संकेत गर्नुभएको हो । सुन तस्करीबारेमा सोधिएको प्रश्नमा मन्त्री यादवले तस्करीमा संलग्न जो कोही भए पनि नछाडिने बताउनुभयो । ‘सुन तस्करीमा संलग्न नेता हुन् या कर्मचारी कसैलाई पनि छोडिँदैन’, उहाँले भन्नुभयो, ‘तस्करीमा संलग्नहरू कारबाहीको दायरामा आउँछन् ।’

मन्त्री यादवले प्रधानमन्त्री देउवाको कार्यकालमा सुन बरामद भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिन पनि आग्रह गर्नुभयो ।

त्यही कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले तस्करी, भ्रष्टाचारीहरुको जालो मौलाएको बताउनुभयो । ‘अहिले त नेपाललाई विदेशीहरुले तस्करको अखडा भनेर सोचेका होलान्’, उहाँले भन्नुभयो, ‘लाजमर्दो स्थिति छ, सरकारमा को छ ?’

कांग्रेसको सरकार बन्दा ठूला भ्रष्टाचारीहरुले प्रश्रय पाएको आरोप उहाँले लगाउनुभयो ।  ‘एमालेका एकजना नेता भ्रष्टाचार गरेको अभियोगमा जेल परेको देखाउनुहोस्’ ‘तर कांग्रेसका हेर्नुहोस् कति धेरै भ्रष्टाचारी छन् ।’

त्यसैगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सुनमात्रै नभएर अन्य ठुला तस्करी पनि नेपालबाट भइरहेको दाबी गर्नुभयो । । ‘सुन तस्करीको मात्रै कुरा नगरौं, यो देशमा धेरै ठुला तस्करीहरु भइरहेका छन्’,  मोदीले भन्नुभयो, ‘तस्करी जालोका रुपमा फस्टाएको छ । यसलाई समाप्त पार्न युवा नेताहरु नेतृत्वमा आउनुपर्छ ।’

Comments

comments