काठमाडौँ । ब्रान्डेड सामानका लागि आकर्षणको केन्द्र मानिएको राजधानीको दरबारमार्गका सपिङ सेन्टर र पसलहरुले उपभोक्तासँग लुट मच्चाइरहेको रहस्य खुलेको छ ।

दशैं तिहार जस्ता चाडपर्व नजिक आइरहेका बेला आपूर्ति मन्त्रालयले सोमबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई लुटिरहेको तथ्य खुलेको हो ।

आपूर्ति मन्त्रालयको टोलीले सोमबार दरबारमार्गस्थित अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चारवटा पसलमा अनुगमन गर्दा लुटको पर्दाफास भएको हो । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकष्मिक अनुगमनका २ हजार पर्ने सामान २६ हजार रुपैयाँसम्ममा बेचेको तथ्य भेटिएको हो ।

उपभोक्तालाई ठगी गरेको प्रमाण भेटिएपछि मन्त्री मण्डलसहितको टोलीले ती पसलहरु बन्द गरी शिलबन्दी गरेको छ । मन्त्रीसहितको टोलीले दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाइक पसलमा शिलबन्दी गरिएको हो ।

ती पसलहरुले बिल बिजक नराखेको, ओभर बिलिङ्ग गरेको र वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दशैँ छुट गरी ठगी गरेको भेटिएकाले शिलबन्दी गरीएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो ।

नाइकको डिलरले ४ हजार ७ सयको खरिद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा विक्री गरेको तथ्य पनि मन्त्री मण्डलको टोलीले फेला पारेको छ । त्यसैगरी २ हजार ६ सय मूल्यको सामान २६ हजार रुपैयाँमा विक्री गरेको प्रमाण फेला पारेपछि ती पसलमा शिलबन्दी गरिएको छ ।

नर्थ फेसको डिलरमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको छ । खरिद र विक्री मूल्यमा झन्डै एक हजार प्रतिशतसम्मको राखेको उक्त पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

‘उपभोक्ताले महंगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने अवस्था देखियो । व्यवासायीको मनपरी पाइएकाले अनुगमन गरेका हौँ’, मन्त्री मण्डलले भन्नुभयो, ‘व्यवसायी र उपभोक्ताबीचमा समन्वय गरी जनता ठग्ने कामलाई नियन्त्रण गर्छौँ ।’

मन्त्री मण्डलले उपभोक्ता नठग्ने व्यवसायीले चिन्ता नगर्नुपर्ने बताउनुभयो । ‘नियम कानुन मिचेको पाइए हदैसम्मको कारवाही हामी गर्छाैँ’, उहाँले भन्नुभयो, ‘निर्दोष व्यवसायीलाई हाम्रो अनुगमनले कुनै दखल दिने छैन । तर दोषीलाई कुनै पनि प्रकारको क्षमायचना दिइने छैन ।’

त्यसैगरी दरबारमार्गसँगै कमलादीको सिटी सेन्टर, ठमेलको नर्थ फेस, नक्सालको भाटभनेटीमा पनि आपूर्ति विभागले अुनगमन गरेको छ ।  कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था छ । तर पसलहरुले अत्यधिक नाफा खाने गरेको भेटिएकाले उनीहरुलाई कालोबजारी ऐन अनुसार कारवाही गरीने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो ।

Please follow and like us:

Comments