–लक्ष्मण गौतम

अहिले केहि साथीहरुले बिदेशिएका साथीहरुलाई गाली गरेर आफूलाई राष्ट्रबादी पुष्टि गर्ने होड चलेको छ । ग्लोबलाईजेसन को यो जमानामा मान्छे पढाइकालागि,रोजगारीका लागि, घुम्नका लागि वा बसाई सराई गरेर एक देशबाट अर्को देशमा जान्छ,यो संसारभरि नै हुने सामान्य प्रक्रिया हो । नेपालमा पनि हुन्छ । अहिले भारतमा हेर्यो भने लगभग ६० प्रतिशत विदेशिएकाहरु भारत फर्केका छन् वा भारतमा लगानी गरेका छन् । चाईनामा त्यो झन ८० प्रतिशतको हाराहारी छ । त्यसैले त यी देश विकासको गतिमा अग्रस्थानमा छन् । भारतमा राष्ट्र बैंकका गभर्नर अमेरिकी पिआरधारी छन् । भारत,पाकिस्तान लगायतका एसियाली मुलुकहरु र युरोप,अमेरिकाका नागरिकलाई अरु १०० देशको नागरिकता राख्न पनि छुट छ । किनकी विकास नागरिकताले होईन बिचारले गर्ने हो भन्ने उनीहरुले बुझेका छन । अफ्रिकाबाट एउटा काले अमेरिका पुगेर त्यहाँको राष्ट्रपति हुन्छ, बेल्जियमबाट एउटा गोरे बेलायत पुगेर प्रधानमन्त्री पदको उमेद्वार हुन्छ, ईटालियनको कोखबाट जन्मेको एउटा युवा भारतमा प्रधानमन्त्रीका लागि चुनावी प्रतिस्पर्धा गर्छ भने ईटालियन नागरिकले भारतको पहिलेको सत्ताधारी पार्टी र अहिलेको प्रतिपक्ष पार्टीको नेतृत्व गर्छिन् । तर बिडम्बना नेपालमा पढेलेखेका मानिसहरुलाई देश छोडेर जानुपर्ने बाध्यता छ ।

अहिले नेपालबाट दिनहु १५ सय देखि २ हजारको संख्यामा युवा बिदेशिने गरेका छन् । कोहि सोखका लागि गए होलान तर धेरै बाध्यताले रोजगारीका लागि गएका छन । नेपालमा रोजगारी छैन र भए पनि नेपालको महंगी सुहाउदो तलब छैन । त्यसैले उनीहरु बिदेशिन बाध्य छन् । पुग नपुग ३ करोड जनासंख्या भएको देशबाट ७० लाख भन्दा बढी जनता जीवन धान्नकालागि नै बिदेशिनुपर्ने बाध्यता छ । अहिले नेपालको अर्थतन्त्रको लगभग ४० प्रतिशत रेमिटान्सले चलेको छ । यो नेपाल सरकारले नै दिएको तथ्याङ्क हो । आजको दिनमा नेपालका लगभग प्रत्येक घरबाट एकजना विदेशिएको छ । विदेशिएका प्रत्येक ब्यक्त्तिले केहि न केहि सिप सिकेको हुन्छ । यदि नेपाल सरकारले बिदेशिएका केहि प्रतिशत मात्र नेपालीलाई देशमा नै उपयोग गर्न सक्ने हो भने नेपाल पक्कै बन्ने छ । खाडी मुलुक निर्माण गर्ने सिप भएको नेपालीले पक्कै पनि नेपाल निर्माण गर्न सक्छ ।

भारतलाई गाली गरेर वा बिदेशिएका नेपालीलाई गाली गरेर राष्ट्रबादी भईदैन । आफूले देशमा नै बसेर राष्ट्रका लागि के गरे त भन्ने तर्फ पनि ध्यान जान जरुरी छ । अन्तमा , भारत र चाईनाको बिकास तिनै बिदेशिएका आफ्ना नागरिक बिना सम्भव थिएन , नेपालमा पनि छैन र हुने पनि छैन । तसर्थ नेपाल सरकारले बिदेशिएका नेपालीहरुलाई नेपाल नै फर्किने वा लगानी गर्ने नियम,कानुन र वातावरण मिलाउन जरुरी छ । नेपालबाट विदेशिएको यो पहिलो पुस्ता हो,यदि नेपाल सरकारले यस तर्फ ध्यान नदिने हो भने दोश्रो पुस्ताको नेपालसंग सम्बन्ध बिच्छेद हुनेछ । यसको घाटा प्रत्यक्ष रुपमा नेपाल सरकारलाई नै हुनेछ ।

राष्ट्रलाई माया गर्न मुलुकभित्रै बसिरहनुपर्दैन । किनभने देशभित्र बसेका सबै देशभक्त हुने र मुलुकबाहिर गएका सबै राष्ट्रप्रति कृतघ्न हुन् भन्नु मुर्खता मात्र हो ।

Comments

comments