प्यारो भाइ,

शुभआशीर्वाद

तिमीले अष्ट्रेलियामा अध्ययनको लागि भिसा पाएको खबर सुन्दा खुशी लाग्यो। सुरु देखि नै तिम्रो पढाई अलिकति कमजोर भएपनि ब्याच्लर्समा प्राप्त गरेको प्रथम श्रेणी र अंग्रेज़ीको हरेक ब्याण्डमा ल्याएको ७ अंकले मलाई नतमस्तक बनाएको छ । मेहेनेत, लगन र परिश्रम गर्यो भने लक्ष्यमा पुग्न सकिदो रहेछ भन्ने क़ुरा तिमीले चरितार्थ गरेर देखायौ । आशा छ तिम्रो थुप्रै अरु साथीहरुलाई पनि यसबाट प्रेरणा मिल्यो होला ।

भाइ तिमीलाई थाहै छ, देश छोडेर हिँडेको नि १० वर्ष भन्दा बढी भएछ । मातृभुमीको बेला बेला आउने यादले मुटु चसक्क हुन्छ । दुर्र्इ थोपा पसिना त्यहीको माटोमा बगाउन पाएनी हुन्थ्यो जस्तो लाग्छ । तर के गर्नु भाइ, अवसर भइदिएको भए यसरी परदेशिनु पर्दैनथ्यो । रहरले भन्दा पनि बाध्यताले बिदेशिनु परेको हो । भाइ, अहिले तिमीलाई त्यही पीडाले सताइरहेछ होला । बिज्ञान र टेकनोलोजीको बिकासले विश्वलाई एउटा ग्लोबल भिलेज बनाएको कुरा त तिमीलाई थाहा नै छ । आशा गरौं बिदेशमा सिकेको ज्ञान र सीप हामीले कुनै दिन स्वेदेशमा लगेर देशको समुन्नत बिकासको लागि उपयोग गर्ने छौं । तिमीले लेखेका पत्रहरुमा यहाँको नेपाली समाज गतिबिधीबारे जान्न जिज्ञाषा राखेका थियौ । लेख्छु भन्दा भन्दै समय पाइन । के गर्नु भाइ यता त समय बितेको पत्तो हुँदैन । घरी घरी त लाग्छ हामीले समयलाई होइन्, समयले हामीलाई चलाईराखेको छ । तर समयलाई आफैले चलाउन मेरो कोशीस जारी छ ।

बाबु, ठ्याकै कति नेपाली छन् भनेर भन्नलाई अधिकारिक पुस्टी नभए पनि अष्ट्रेलियामा नेपालीहरु ५०–६० हजारको हाराहारीमा रहेको अनुमान छ । पढाइ सकेर यतैको स्थायी बसोबास लिनेहरुको संख्या बढ्दो छ । नेपाली समुदाय क्रमिक रुपमा बढ्दै गएको र अष्ट्रेलियाको मल्टिकल्चरल सोसाइटीमा यसले थप उर्जा दिएको कुरा अष्ट्रेलियाली प्रतिनिधिहरुले नेपाली कार्यक्रममा आएर बोल्ने गर्छन् । नेपालीहरुको संख्या बढदै गर्दा यता पनि खेलकूद, कला साहित्य,जातीय, क्षेत्रीय र राजनीतिक आस्थाका थुप्रै गैरनाफा मुलक संस्थाहरु खुलेका छन । एकआपसमा समझ्दारी, आपसी सद्भाव र परदेशमा देश चिनाउने उद्देश्यका साथ यस्ता संस्था खुलेका भए पनि आपसी समन्वय नहुँदा यहाँ एकै दिनमा ३–४ वटा कार्यक्रम हुने हुँदा सबैमा जानै भ्याइदैन । “संस्थाहरुहरु च्याउ जस्तै उम्रिए,सबै नेता बन्नका लागि संस्था खोले” भनेर गुनासो पनि आउने गर्दछ । मेरो विचारमा सहयोगी मन र पबित्र उद्देश्य लिएर संस्था खोल्नु नराम्रो होईन । बरु यसले त हामी सबै लाई फाइदा हुन्छ । तर समाजसेवाको नाममा आर्थिक हिनामिना गर्ने,पदको दुरुपायोग गर्ने लाई उचित न्यायिक सजाय हुनुपर्छ जस्तो लाग्छ । चाडपर्बहरु यता पनि मज्जासँग मनाइन्छ । लाग्छ कि हामी अझै पनि आफ्नै गाउँमा बसेर मनाइरहेका छौं । सबै क्षेत्रका दाजुभाइहरु यतै भएकाले होला नेपालमा पनि लोप हुन लगेका सोरठी र मरुनी नृत्य बरु यतै देख्न पाईन्छ । भर्खरै तीज पनि सकियो । रातो साडी र चोलीमा सजिएर मन्दिरको परिसरमा नाचेका चेलीबेटीहरुलार्इ देख्दा लाग्छ नेपाल यही छ, पशुपतिनाथ पनि यही छन् । खेलकुदका प्रतियोगिताहरु बर्ष भरी भइरहन्छन । हप्तैपिछे भइरहने यस्ता सोसीयल खेलकूदको रमाइलो बेग्लै छ । बच्चादेखि बृद्दहरुसम्मले भाग लिने यस्ता प्रतियोगिता अन्तर राज्यीय तहको प्रतिस्पर्धा सुरु भैसकेको छ । मेरो उमेर ढल्किदै गएपनि यसमा रमाउन छोडेको छैन । मेरा समकक्षी पनि उत्तीकै जोशिला छन्,कम्जोर छैनन् ।

बाबु, हालसालै पूर्वी तराईमा आएको बाढीको खबरले हामी स्तब्ध भएका छौं । एनआरएनए लगाएत सामाजीक संस्थाले चन्दा संकलन गरेर पठाउने तर्खरमा छन । तर यसरी उठेको पैसा सम्बंन्धित व्यक्ति सम्म नपुग्ने हो कि भन्ने चिन्ताले सधैं सताइरहन्छ र सबै दाताहरु यस्मा सम्बेदनशील भएको पाईन्छ । भाइ, संघ संस्था धेरै भएकाले कार्यक्रमहरु हप्तै पिच्छे हुन्छन । स्पोन्सरसीपको लागि सधैं नेपाली व्यवसायीहरु नै ताक्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु हतोत्साही भएको पाईन्छ । जसले पनि सहयोग गर्न सक्ने एउटा निश्चित सिमा हुन्छ । बरु संघ संस्थाले स्थानीय सरकारी निकायबाट कसरी अनुदान लिने भन्ने बारेमा सोच्नु अतिनै आवश्यक भएको मलाई लाग्छ ।

दुर्घटना, दैबीप्रकोप, असमान्य रोग तथा अन्य मानवीय तथा परोपकारी काममा बिभिन्न संस्थाले उठाउने रकमले वास्तवमा “चन्दा आतंक ” को परिस्थिति सृजना भएको गुनासो छ । तर एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीलाई सहयोग गर्नु हाम्रो नैतिक कर्तव्यलाई पनि भुल्न भएन नि, है न त बाबु ? साथीभाइबिच कति मात्र सहयोग गर्नु भनेर खासखुस क़ुरा हुने र यहाँ सबै जना ” चन्दा ” ले अत्तालिएको अवस्था भएकोले रकम संकलन गर्ने एउटा नवीनतम योजना यहाका सामाजिक संस्थाले तुरुन्तै अवलम्बन गर्नुपर्ने देखिन्छ । यसै सिलसीलामा ४१ प्रति महिना भन्ने एउटा अवधारणा तिमीसँग साटासाट गर्न खोज्दै छु । यो तरिकालाई कुनै कुनै संस्थाले अपनाएको सुन्नमा अएको छ । तर सबै सामाजिक संस्थाबिच बृहत् छलफल र ऐक्बद्दता नभएसम्म यस्ले सफलता नपाउला कि भन्ने मेरो चिन्ता छ । यूरोपतिर एनआरएनए नारी निकुन्ज संस्थाले यो योजना संसार भर फैलाउन कोशीश गरेको सुनेको छु । अष्ट्रेलियामा रहेका नेपालीबाट यो योजनाको उचित परिचालनबाट एक सालमा ६ लाख डलर उठ्ने रहेछ । सबै सामाजिक सस्थाबिच तालमेल र सहकार्य गर्ने हो भने यो योजना असम्भब छैन ।

प्यारो भाइ, कुरा गर्न,लेख्न र बोल्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यति नै गाह्रो हुन्छ । यदि सबैजना मिलेर यो अभियानमा लाग्ने हो भने हामीले अरुको मुख ताक्नु पर्दैन र सबै जना चन्दा आतंक बाट मुक्त हुन्छौ । अस्ट्रेलियामा बसेका नेपालीबाट एक जनाले साल को १२ सहयोग गर्न कसैलाई गाह्रो नहोला । यो रकम एउटा लन्च वा ३ वटा चिया–कफी बराबरको रकम हो । यो अभियानलाई संसारभरिका एनआरएनएबिच लगेर सार्थक बनाउन सके सजिलो र खुशी साथ बिश्वास गर्न गाह्रो रकम सजिलोसँग जम्मा गर्न सकिन्छ र यो कोषबाट धेरै ठुला ठुला मानबिय तथा परोपकारी कामहरु गर्न सकिने मेरो बिश्वास छ । हाम्रो एकतामा कति शक्ति र श्रोत रहेछ है, सोच त बाबु ? तिमीलाई लाग्यो होला उठेको रकम कसरी सस्था बिच छुट्ट्याउने ? यो कुरा लाई सजिलै मिलाउन सकिन्छ । १ डलर अभियानका दाताहरु सर्बप्रथम कुनै न कुनै मन परेको नेपाली सामाजिक संस्थासँग आवद्ध हुन्छन् । दाताहरुको रकम एउटा बैंकमा राखिन्छ । आवद्ध भएको संस्थाको संख्याको आधारमा, उठेको रकमको अनुपात संबन्धित संस्थाले पाउँछ । अनि संस्थाको निर्णय र लक्ष्य अनुसार परोपकारी वा अनुदानको लागि रक़म हस्तान्तरण गर्न सकिन्छ । खुशीसाथ आउने स्पोन्सर्सिप, संस्थाको आजीवन वा बिषेश सदस्यबाट उठ्ने सहयोग त छँदै छ । अरुको मुख ताकेर हुँदैन, हाम्रो लागि हामी नै कसिनुपर्छ । नेपालीका लागी नेपाली भन्ने एनआरएनएको मुल मन्त्रलाई आत्मसाथ गर्दै व्यक्ति र संस्था भन्दा समाज र राष्ट्रिय हितलाई सर्वोपरि ठानेर ईमान्दारी र एकताका साथ अगाडी बढ़ेमा यस योजनाले सार्थकता पाऊनेछ । जसबाट सबैलाई सरल, सहज र “सर्प पनि मर्ने, लट्ठी पनि नभाचिने” स्थिति आउन सक्थ्यो ।

बाबु चिट्ठीमै सबैकुरा भन्दा लामै होला, केही बुझेनौ भने लेख । बरु मेरो कुरा यसो तिम्रो साथीहरुलाई पनि जानकारी गराउ र नबुझे सोध्न भने है ? बुवा मुमालाई ढोग, बहिनीलाई धेरै माया । छर छिमेक र इस्टमित्रमा धेरै सम्झना अनि नमस्कार सुनाईदिनु ।

तिम्रो परखाईमा,

परदेशी दाजु

विष्णु हमाल

(अष्ट्रेलिया निवासी हमालले लेख्नुभएको यो पत्र निबन्ध हिमालयन कङ्गारुमा २०७१ को असोज १३ मा प्रकाशित भएको थियो । तर अझै यसको सान्दर्भिकता रहेकोले सामान्य सम्पादनसहित पुनः प्रकाशन गरेका छौं ।)

Comments

comments