काठमाडौं । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएपछि मन्त्रिमण्डलको आकार अझै बढ्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन यसअघि नै सहमति जनाएको जनाइएको छ ।

स्रोतका अनुसार देउवाले बुधबारभित्र राप्रपाका मन्त्रीहरूलाई सपथ गराउने तयारी गरेका छन् ।

शान्ति तथा पुनर्निर्माण, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र उद्योग मन्त्रालय बाँकी छन् । यी चार मन्त्रालयमा देउवाले नयाँ मन्त्री ल्याउन लागेका हुन् ।

चार मन्त्री र चार राज्यमन्त्री राप्रपा प्रजातान्त्रिकबाट थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५८ सदस्यीय बन्नेछ । राप्रपा प्रजातान्त्रिक देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्नेछ ।

राप्रपा ९प्रजातान्त्रिक०ले सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा र रेशमबहादुर लामालाई मन्त्री बनाउने तयारी गरेको छ । यसअघि दीपक बोहरा मन्त्री बन्ने चर्चा रहे पनि नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अनियमितताका कारण त्यो सम्भावना टरेको हो । निगमको अनियमितताका विषयमा पूर्वमन्त्री बोहरा विववादमा परेको भन्दै देउवाले तत्काल मन्त्री बनाउन अनिच्छा जनाएको स्रोतको भनाइ छ ।

राप्रपा ९प्रजातान्त्रिक०ले पार्टीभित्रको अन्तरिक सन्तुलन मिलाउनभन्दै चार मन्त्रीसँगै चार राज्यमन्त्री पनि बनाउने भएको छ । राज्य मन्त्रीका लागि राज्यलक्ष्मी श्रेष्ठ, इश्तियाक अहमद खान, रमेशकुमार लामा र सयन्द्र बान्तवाको नाम चर्चामा छ ।

Comments

comments