काठमाडौँ । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जाने विषय एमालेमा जीवितै रहेको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालले राजधानीमा  आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी बनाउने विषयलार्इ सार्वजनिक बहसको रूपमा लैजानुपर्ने बताउनुभयो ।

दलका अघिल्लो पुस्ताले नचाहँदा संविधानमा प्रत्यक्ष कार्यकारीको विषय समावेश गर्न नसकेको उहाँको स्वीकारोक्ति थियो । ‘माओवादीले २०६४ आफू ठूलो हुदाँ यो विषय उठान गर्यो  । दोस्रो संविधानसभाको निर्वाचनमा खुम्चिएपछि प्रचण्ड प्रत्यक्ष कार्यकारीको विषयमा पछि हटे’, उहाँले भन्नुभयो, ‘दलहरूले आफू अनुकुल विषयमात्र उठान गर्दा समस्या भएको छ । नयाँ पुस्ताले यस्तो प्रणाली चाहेर पनि पछि हट्नु परेको छ।

आगामी निर्वाचनमा एमालेसहितका दलले प्रत्यक्ष निर्वाचन प्रणालीलाई घोषणापत्रमा समेटेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीले निर्वाचित भएपछि पद जोगाउन लाग्नुपर्ने भएकाले देशलाई समृद्ध बनाउन सकिएको छैन’, भट्टरार्इले भन्नुभयो, ‘नेपालका प्रधानमन्त्री स्वाभिमानका साथ दिल्ली र बेइजिङ जान नसकेसम्म नेपालमा स्थिर सरकार बन्न सक्दैन । यसैकारण विकास हुन पनि नसक्ने अवस्था छ ।’

भट्टरार्इले मन नपरे पनि अझै केही वर्ष समानुपातिक प्रणाली राख्नैपर्ने अवस्था रहेको स्वीकार्नुभयो । ‘कसैलाई मन नपरेपनि अझै एक दशक समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिने अवस्था छैन’, भट्टरार्इले भन्नुभयो, ‘यसैका कारणा संसदको निर्वाचनका बेला सांसदको टिकट किनबेच भइरहेको छ।’

सांसद खरिद विक्रीले ठुलो विकृति ल्याएको बताउँदै उहाँले समानुपातिक प्रणाली धनाढ्यका लागि फाइदा लिने माध्यम भएको जिकिर गर्नुभयो । ‘आर्थिक, सामाजिक अवस्थामा पछि परेको समुदायलाई राज्यको मूलधारमा ल्याउन समानुपातिक प्रणाली ल्याइएको हो’, उहाँले भन्नुभयो, ‘तर अहिले धनाढ्यले समानुपातिक प्रणालीको फाइदा उठाए । अब यस्तो प्रवृतिलार्इ सच्चाउनेतर्फ लाग्न जरूरी छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments