सोल । उत्तर कोरियाले हाइड्रोजन बम बनाएको छ । यो बमलार्इ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलमा लोड गरेर प्रहार गर्न सकिन्छ । उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले आइतबार यो दावी गरेको हो । उता दक्षिण कोरियाको समाचार एजेन्सी योनहपले पनि उत्तर कोरियाले छैटौँ न्यूक्लियर परीक्षण गरेको जनाएको छ ।

अर्कातिर जापानले पनि उत्तरले हाइड्रोजन बम परीक्षण गरेको पुष्टि गरेको छ । प्रधानमन्त्री शिन्जो आबेले भनेका छन्, ‘किम जोङ्ग उनको यो हर्कत बिल्कुल सहन नसकिने किसिमको छ ।’ यसैबीच चीनले उत्तर कोरियाको परमाणु परीक्षणले ६.३ म्याग्निच्यूडको भूकम्प आएको पुष्टि गरेको छ । उत्तर कोरियाको यो बमले ठुलो क्षति गर्ने क्षमता राख्दछ ।

केसीएनएको रिपोर्ट अनुसार उच्च प्रविधि र अत्यधिक शक्तिशाली हाइड्रोजन बमले ठुलो विनाश मच्चाउने क्षमता राख्दछ । बमको सबै उपकरण उत्तर कोरियामा नै विकसित गरिएको हो । यसको क्षमता सयकडा किलोटन रहेको छ।

रिपोर्टमा उल्लेख भए अनुसार किम जोङ्ग उनले हालैमात्र न्यूक्लियर हतियार इन्स्टिच्युटको भ्रमण गरेका थिए । र,  त्यहाँ आणविक हतियार बनाउने डिभाइसको उद्घाटन गरेका थिए । उनले शुभारम्भ गरेको विस्फोटक अत्यधिक क्षमता भएको एक थर्मोन्युक्लियर हतियार थियो ।

उत्तर कोरियाले यसै साल जुलाईमा २ पटक आइसीबीएम होङसेङ्गको सफल परीक्षण गरेको थियो, जसले अमेरिकाको धेरैजसो भूभागमा मार हान्ने क्षमता राख्ने दाबी गरिएको थियो । यही हतियार परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाव चुलिँदै गएको छ ।

रिपोर्ट अनुसार जनवरी २०१६ मा आफ्नो चौथो न्यूक्लियर परीक्षणपछि उत्तर कोरियाले एक सानो हाइड्रोजन बम बनाएको दाबी गरेको थियो । जुन अन्य आणविक हतियार भन्दा कयौँ गुणा शक्तिशाली थियो । तर वैज्ञानिकहरूले ६ किलोटनको यस बमको क्षमता एक थर्मोन्यूक्लियर डिभाइसको अनुपातमा धेरै कम रहेको बताएका थिए । त्यसपछि सेप्टेम्बर २०१६ मा उत्तर कोरियाले पाँचौँ आणविक हतियारको परीक्षण गरेको थियो । त्यो बेला यो हाइड्रोजन बम भएको खुलाइएको थिएन ।

केसीएनएका अनुसार अहिले उत्तर कोरियाले आफ्नो प्रविधिमा सुधार गरेर त्यसलार्इ उच्च आधुनिक तहसम्म पुर्याएर पहिलो हाइड्रोजन बम बनाउन सफल भएको हो ।

Comments

comments