पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा निर्धारण आयोगले प्रस्तुत गरेको प्रतिवेदन र निर्वाचन आयोगको भूमिकाप्रति तीब्र असन्तुष्टि प्रकट गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा ओलीले सीमा निर्धारण आयोगले प्रस्तुत गरेको प्रतिवेदन र निर्वाचन आयोगको भूमिकाप्रति तीब्र रोष र असन्तुष्टि प्रकट गरेका हुन् ।

वर्तमान सरकारी गठबन्धन आगामी चुनावमा पनि धाँधली गरेर परिणाम आफ्नो पक्षमा पार्न कोशिश गरिरहेको संकेत मिलेको उनले टिप्पणी गरे । उनले सरकारले जथाभावी रुपमा स्थानीय तह थप गरेको आरोप पनि लगाए । भूगोल र जनसंख्याको अध्ययन नै नगरी जनसंख्याका आधारमा मात्र स्थानीय तहको संख्या बढाइएमा ओलीले रोष प्रकटगरे । ‘मोर्चा कसेर, प्रभुको आर्शिवाद लिएर एमालेलार्इ दोस्रो पार्टी बनाएर देखाओस’, उनले भने, ‘एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन सक्दैन ।’

अध्यक्ष ओलीले प्रदेश नम्बर दुर्इमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन पनि चुनौती दिए । ‘एमालेले तराईका जनताका लागि विकासको काम गरेको छ’, उनले भने, ‘जनताको मन मष्तिष्कमा एमालेको छाप छ । त्यसैले कसैले भन्दैमा एमालेलाई दोस्रो बनाउन सक्दैन ।’

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले पक्षपात गरेको आरोप समेत लगाए । उनले एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गरेको नदेखेको भन्दै निर्वाचन आयोगको कटाक्ष गरे । ओलीले निर्वाचन आयोगले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कसैले झुक्याएर टोपी लगाई फोटो खिचाएको आधारमा २४ घण्टे स्पष्टीकरण सोधेकोमा आश्चर्य प्रकट गरे ।

अध्यक्ष ओलीले एमाले फ्री-स्टाइलमा चुनाव लड्न तयार रहेको जिकिर गर्दै अन्य पार्टीहरु जतिसुकै मिलेर आएपनि एक्लै लड्न तयार रहेको बताए । प्रदेश नम्बर ४ का नेताहरुलाई इंगित गर्दै ओलीले प्रदेश नम्बर ४ मा सोचेजस्तो परिणाम नआएकामा असन्तुष्टि प्रकट गरे । अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातै प्रदेशसभामा एमालेले बहुमत ल्याउने दाबी गरे ।

Comments

comments