काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्न गराउन सरकारलाई पुनः निर्देशन दिएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई हेलिकोप्टर प्रयोग गर्दा अनिवार्य आयोगको स्वीकृति लिन पनि सचेत गराएको छ ।

आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिता लागू भइसकेकाले अब कर्मचारीहरुको सरुवा, बढुवा लगायतका काम नगर्न पनि सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले निर्वाचन प्रभावित हुने गरी बजेट थप, रकमान्तर गर्ने जस्ता काम गर्न रोक लगाइएको पनि स्पष्ट पार्नु भयो । निर्वाचन आयोगले विदेश भ्रमणमा जान पनि रोक लगाएको छ । निर्वाचन आचारसंहिता विपरित विदेश भ्रमणमा नजाने र जानैपर्ने अवस्था आए आयोगको स्विकृति लिनुपर्ने व्यवस्था गरिएको आयुक्त शाहले बताउनु भयो । निर्वाचन आयोगले कुनै सुविधा हुने पद वा निकायमा राजनीतिक नियुक्त नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउन गत बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयुक्त शाहले आचारसंहिताको पूर्ण पालना भए-नभएको अनुगमन भइरहेको पनि स्पष्ट पार्नुभयो ।

 

Comments

comments