काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा हुने भएको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको नर्वाचन आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रहअनुसार प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने मिति तय गरेको थियो ।

पहिलो चरणमा मंसिर १० गते हिमाली जिल्लाहरुमा र सुगम जिल्ला, क्षेत्रहरुमा २१ गते दोस्रो चरणमा दुवै तहका निर्वाचन हुनेछ । यस्तै, मन्त्रिपरिषद् बैठकले निर्वाचन कार्यालयलाई आधिकारिक पत्र पठाउने र तयारीका लागि आयोगसँग आवश्यक छलफल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताउनुभयो ।

कोशी बॉध निर्माण बखत दिने भनिएको ५० करोड सहयोगबारे भारत सरकारसँग कुरा अघि बाउने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

Comments

comments