मेलबर्न । अष्ट्रेलियाले शरणार्थी सुविधामा कटौती गर्ने भएको छ । अद्यागमन विभागको चुहिएको भित्रि सूचनाले यस्तो इंगित गरेको हो ।

अष्ट्रेलिया सरकारले शरणार्थीहरुलाई काम खोज्ने समय, बस्नको लागि ३ हप्ता ठाउँ खोज्ने समय र त्यो समयमा १५ दिनको २०० डलर सहयोग दिने गरेको थियो । तर अब भने शरणार्थीहरुलाई कुनै पनि खालको सुविधा तथा छुटको व्यवस्था हुनेछैन । नयाँ नीति कार्यान्वयन भएपछि उनीहरुले अष्ट्रेलियामा तुरुन्तै काम खोजेर आफ्नो जीवन निर्वाह गर्नुपर्नेछ । अन्यथा अष्ट्रेलिया छोड्नुपर्नेछ ।

बेलायती अखबर द गार्जियनमा प्रकाशित खबर अनुसार शरणार्थीहरुले अष्ट्रेलियाको समुदाय र कानून अनुसार रहनुपर्नेछ । उनीहरुलाई कानुनी तवरले समेत कुनै पनि कुरामा छुट हुनेछैन ।

मानव सेवा मन्त्रि एलन टजले डुंगाबाट अष्ट्रेलिया छिरेका जोकोहीलाई सरकारले अष्ट्रेलियामा स्थायी वसोवास गर्न अनुमंति नदिने नीति लिएको प्रष्ट पारेका छन् । विपक्षीहरुले भने शरणार्थीहरुलाई तेश्रो मुलुकमा स्थानान्तरण गर्ने सुविधा नल्याई आएको यस्तो कडा नीतिप्रति आपत्ति जनाएका छन् ।

Comments