भक्तपुर । सर्वाधिक सवारी आवागमन हुने अरनिको राजमार्ग खण्ड भासिएर भत्किँदा पूर्वबाट राजधानी आउने सवारी आवागमन प्रभावित भएको छ ।

खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजाराँै सवारी साधन गुड्ने एक मात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेँमा आज सडक भासिएको हो । स्थानीयवासी प्रकाश जोशीले सार्वजनिक जग्गा अतिक्रमण गरी नियमित रुपमा बग्दै आएको खोला थुनेर आफ्नो जग्गा सम्याउँदा सडक नै भत्किएको सूर्यविनायक नगरपालिका वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खोलाको बहाव नै बन्द गरेर सानो ह्युमपाइप राखेर निकास दिई जग्गा सम्याउँदा स्थानीयको विरोध आएपछि मैले वडा कार्यालयमै बोलाएर नियमविपरीत काम नगर्न र तत्काल खोला थुनेर जग्गा सम्याउने कार्य रोक्न निर्देशन दिँदा पनि जोशीले अटेर गर्नुभयो, त्यसको परिणाम अरनिको राजमार्ग नै भत्कियो ।

स्थानीय बासिन्दाका अनुसार सार्वजनिक जग्गासमेत अतिक्रमण गरी जोशीले व्यापारिक प्रयोजनका लागि खोला थुनेर जग्गा सम्याउँदा बिहीबार परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला फुटाएर सडक भत्काएको हो । महानगरीय प्रहरी वृत्त जगातीले जोशीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जोशीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई बुझाइएको बताउनुभयो ।

सडक भत्किएपछि आज बिहानदेखि प्रहरीले त्यस क्षेत्रमा एकतर्फी रुपमा यातायात सञ्चालन गराएको छ । सडक भत्किएपछि आज जिल्लास्थित सरकारी कार्यालय र सडक कार्यालयको टोलीले सडकको अनुगमन गरेको थियो ।

Please follow and like us:

Comments