काठमाडौं । आगामी मंसिरका लागि तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ भदौमा १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन ५ भदौसम्म १८ वर्ष उमेर पूरा भएको र मतदाता नामावलीमा नाम लेखाएकाहरूलाई मात्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न दिइने निर्णय गरेको हो ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थानुसार मतदाताको १८ वर्ष उमेर पुगेको मिति तोकेको हो,’ आयोग बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारले ५ भदौमा निर्वाचनको मिति तय गरिसकेकाले कानुनअनुसार नै सोही दिनसम्म १८ वर्ष उमेर पूरा भएकाहरूले मात्र आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने बताए । ‘निर्वाचनसम्बन्धी ऐनमा नै स्पष्ट व्यवस्था छ, सरकारले ५ भदौमा नै निर्वाचनको मिति तय गरिसकेको छ, सोही दिनसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका सबैले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न पाउनुहुन्छ,’ प्रवक्ता शर्माले भने ।

आयोगले ३ भदौसम्म मतदाता नामावलीका लागि फोटोसहितको नामावली संकलन गरेको थियो । बैठकले सोही दिनसम्म नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ । सरकारले प्रमुख दल तथा निर्वाचन आयोगसँगको छलफलपछि गत ५ गते मात्रै १० मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले भने दुवै निर्वाचन एकै चरणमा भए पनि एकै मितिमा भने व्यवस्थापकीय रूपमा गर्न सम्भव नरहने र दुई मितिमै हुने बताउँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments