मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भव्यताका साथ तीज पर्व मानिएको छ । क्षितिजपारि नेपाली समाजले ‘ तीज विशेष कार्यक्रम २०७४’ को आयोजना गरेर मेलबर्नवासी नेपालीहरुलाई एकैठाउँमा भेला भएर तीज मनाउने अवसर प्रदान गरेको हो ।

ग्लेन पार्क कम्युनिटी हलमा भएको तीज कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने प्रमुख अतिथी, एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कंडेल विशेष अतिथी तथा एनआरएनए भिक्टोरियाका सदस्य प्रेम सापकोटा र एएनएमसीका कोषाध्यक्ष राजेश आचार्य अतिथी रहनुभएको थियो । क्षितिजपारि नेपाली समाज भिक्टोरियाका संयोजक देवराज बसेलको सभापतित्वमा औपचारिक कार्यक्रमबाट सुरु भएको कार्यक्रम छ घण्टा सम्म चलेको थियो ।

तीजको दर सहितको कायक्रममा नेपाली दिदीबहिनीहरु दिल खोलेर नाच-गान गरेका थिए । उत्कृष्ट नृत्य प्रस्तुतिको लागि पुरस्कारको समेत व्यवस्था गरिएको थियो । सन्ध्या सापकोटा काफ्ले र अनु पाण्डेले आफ्नो नृत्य कलाको लागि सो पुरस्कार प्राप्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले नेपाली मौलिकपन र संस्कृतिको जगेर्ना गर्ने भएकोले आयोजकलाई धन्यवाद दिंदै क्षितिजपारि नेपाली समाजलाई आवश्यक सहयोग गर्न एनआरएनए अष्ट्रेलिया सधै तयार रहने बताउनुभयो । त्यस्तै विशेष अतिथी एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कंडेलले विगतका आफ्ना तीज अनुभव सुनाउंदै, आयोजकलाई कृतज्ञता साथै सम्पूर्णलाई तीजको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथीको आसन ग्रहण गर्नुभएका एनआरएनए भिक्टोरियाका सदस्य प्रेम सापकोटा र एएनएमसीका कोषाध्यक्ष राजेश आचार्यले सम्पूर्णलाई तीजको शुभकामना दिनुभएको थियो । नेपालीपनको सौन्दर्यले झकिझकाउ भएको कार्यक्रममा पूर्वसंचारकर्मी तथा आयोजक संस्थाका सदस्य संदेश चापागाईंको उद्घोषण शैलीले कार्यक्रमलाई थप सुन्दर बनाएको थियो ।

Comments