काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भदौ ७ देखि ११ गतेसम्म  राजकीय भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवाका साथमा उहाँकी पत्नी डा. आरजु राणा, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ ।

प्रधानमन्त्री देउवाको भदौ ८ गते भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत हुनाका साथै उहाँले ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्नुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट गई श्रद्धाञ्जलि अर्पण गर्नुुहुनेछ । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका दौरानमा प्रधानमन्त्री देउवासँग भारतका केही वरिष्ठ मन्त्रीले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनाका साथै त्यहाँस्थित नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्नुहुनेछ । त्यहाँ रहूँदा उहाँले नेपाल–भारत विषयका जानकार तथा भारतीय व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भ्रमणकै अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री देउवाले भारतको तेलांगना, आन्ध्रप्रदेश र विहार राज्यको भ्रमणसमेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ भदौ ११ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि उहाँले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments