काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको उद्घाटन गर्दै उहाँले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक दलभित्र एकता र स्थायित्व भएपछि मुलुकले अगाडि बढ्ने बताउँदै सङ्घ र प्रदेशको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुने दाबी गर्नुभयो । उहाँले संविधानको सफल कार्यान्वयनका लागि दुवै चुनाव आवश्यक भएको धारणा राख्नुभयो ।

‘माघ ७ गतेभित्र दुवै निर्वाचन गराउन पर्छ’, उहाँले भन्नुभयो, ‘दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ । अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ ।’

उहाँले संविधान कार्यान्वयनपछि सबैका अधिकार स्थायी हुने भन्दै अब कसैले पनि संघीय गणतान्त्रिक अधिकार खोस्न नसक्ने बताउनुभयो ।

देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बखतमा त्रिचन्द्र कलेजलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. प्रदीपबहादुर न्यौपानले शिक्षाको क्षेत्रमा कलेज देशकै नमूना कलेजका रुपमा स्थापित भएको बताउनुभयो ।

विसं १९७५ भदौ ५ गते तत्कालीन चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पसको स्थापना गर्नु भएको थियो ।

Comments

comments